झापा, जेठ २५ । झापाको कन्काई नगरपालिकाले चौथो संस्करणको सहिद रामकृष्ण श्रेष्ठ स्मृति अन्तरपालिका महिला फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।


धनकुटा–५ स्थित तल्लो टुँडिखेलमा सम्पन्न प्रतियोगितामा कन्काई नगरपालिकाले धनकुटा नगरपालिकालाई २–१ ले पराजित गर्दै ट्रफी उचालेको हो ।

घरेलु दर्शकको साथ पाएको धनकुटाले खेलको १९ औं मिनेटमा मनिता तामाङको उत्कृष्ट गोलमा अग्रता लिएको थियो । पहिलो हाफमा लिएको अग्रता दोस्रो हाफमा भने टिक्न सकेन । दोस्रो हाफको पहिलो र नवौं मिनेटमा कन्काईकी जेनिफर रानामगरले गोल गर्दै टिमलाई विजयी गराइन् । सेमिफाइनलमा छथर जोरपाटी गाउँपालिका धनकुटाविरुद्ध ४–० को जितबाट धनकुटा फाइनलमा पुगेको हो ।

अर्को सेमिफाइनलमा मोरङको मिक्लाजुङ गाउँपालिकालाई ५–० ले हराएर कन्काई उपाधि नजिक पुगेको थियो ।उपाधि विजेताले १ लाख र उपविजेताले ५० हजार रुपैयाँ पुरस्कार पाए ।सर्वोत्कृष्ट खेलाडी कन्काईकी जेनिफर रानामगर घोषित भइन् । मिडफिल्डमा धनकुटाकी तीर्थ लिम्बू, फरवार्डमा कन्काईकी समीक्षा मगर, गोलकिप्परमा कन्काईकी रञ्जु चौधरी र प्रशिक्षकमा कन्काईका सन्तबहादुर राई उत्कृष्ट घोषित भए । उनीहरूले नगद पुरस्कार पाए ।

विजेता र उपविजेता टोली र विधागत खेलाडीलाई मनोहरनारायण श्रेष्ठ, लीला सुब्बा, धनकुटाका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेललगायतले पुरस्कृत गरे ।धनकुटा नगरपालिका–७ निवासी रामकृष्ण श्रेष्ठको २०३० चैत ३ गते विराटनगरमा तत्कालीन राजा वीरेन्द्रमाथि बम प्रहारको घटनामा निधन भएको थियो । उनलाई २०७४ साल माघ ३ मा तत्कालीन सरकारले राष्ट्रिय सहिद घोषणा गरेको थियो । उनको स्मृतिमा गठन भएको प्रतिष्ठानले महिला फुटबललगायतका गतिविधि गर्दै आएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्