भद्रपुर, जेठ २६ । झापाका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक मिलन केसीले लागूऔषध दुर्व्यसनीको जिल्लाको रुपमा परिचित झापामा दुर्व्यसन नियन्त्रणका लागि प्रहरीलाई झापाली जनताको सहयोग आवश्यक रहेको बताएका छन् ।

सामुदायिक प्रहरी सेवाकेन्द्र चन्द्रगढीको समन्वयमा भद्रपुर १० कलवलगुडीको नागेश्वर ज्योतिर्लिङ्ग कल्पेश्वर देउनियामा निर्मित कलात्मक चौतारा तथा सिडीको उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् । उनले दुर्व्यसन नियन्त्रणका लागि प्रहरीले महिला तथा बालबालिकालक्षित विभिन्न जनचेतनामुलक कार्यक्रमहरु संचालन गरिरहेको जानकारी दिए ।

अपराध नियन्त्रणलगायत जिल्लाको शान्ति सुरक्षा कायम गर्न प्रहरी अहोरात्र खटिरहेको बताउँदै उनले शान्ति सुरक्षा कायम गर्न प्रहरीले जनताको सहयोग खोजेको आवश्यकता औल्याए ।

गत चैत २९ गते स्थानीय समाजसेवी भरत सुवेदीको सिडी निर्माण गरेका थिए । त्यस सिडी र चौतारालाई कलात्मक डिजाईन गर्ने काम भद्रपुर १० निवासी गोविन्द चापागाई र उनकी धर्मपत्नी राधा चापागाईले गरेका हुन् । सो अबसरमा उनीहरुलाई सेवाकेन्द्रले खादा ओढाएर सम्मान गरेको थियो । कार्यक्रममा सेवाकेन्द्र कोषाध्यक्ष ज्योति रिजाल न्यौपानेले कलात्मक सिडी तथा चौताराको आयव्यय सार्वजनिक गर्दै रंगरोकन गर्न जम्मा १ लाख ७६ हजार २ सय रुपैयाँ खर्च भएको जानकारी दिइन् ।


सेवाकेन्द्रका अध्यक्ष दुर्गाप्रसाद पाठकको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव खड्गबहादुर बुढाथोकी र स्वागत मन्तव्य निर्मला दंगालले गरेका थिए । कार्यक्रममा भेलागढी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष पुण्यप्रसाद लम्सालले पनि मन्तव्य राखेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्