भद्रपुर, जेठ २६ । वर्षादको समयमा दाहसंस्कार गर्न निकै कठिनाइको सामना गरिरहेका हल्दिवारी ३, ४ र ५ का बासिन्दाले आगामी दिनमा राहत पाउने भएका छन् ।

हल्दिवारी ३ स्थित रङ्गेडाँडा देउनिया खोलामा निर्माणाधीन आर्यघाटको निर्माण सम्पन्न भएपछि स्थानीयले दाहसंस्कार कर्म गर्दा केही राहत पाउने भएका हुन् ।

पर्यटन ,वन तथा वातावरण मन्त्रालय कोशी प्रदेश सरकारमार्फत २४ लाख रुपैयाँ चालु आर्थिक वर्षमा निकासा भएपछि तीव्र गतिमा निर्माण भइरहेको आर्यघाटका लागि प्रदेश सभा सदस्य छविलाल चुडालको पहल रहेको उपभोक्ता समितिका पदाधिकारी बताउँछन् ।

प्रदेश सभा सदस्य चुडालले सामाजिक उत्तरदायित्वअन्तर्गत २४ लाख रुपैयाँ निकासा गराएका छन् भने देउनिया खोला मलामी घाट निर्माण समितिमार्फत उपभोक्ताको २ लाख ७४ हजार २४४ रुपैयाँ गरी २६ लाख ७५ हजार २४४ रूपैयाँमा घाट निर्माणको काम धमाधम भइरहेको समितिका सचिव अर्जुनप्रसाद गिरीले जानकारी दिए ।
सचिव गिरीका अनुसार घाट निर्माण भएपछि हल्दिवारी गाउँपालिका ३,४ र ५ साविक जलथल गाविसका बासिन्दालाई दाहसंस्कारमा सहज हुने छ ।

केही वर्ष अगाडि हल्दीवारी –२ देउनिया खोलामा बनाइएको आर्यघाट अलपत्र अवस्थामा रहेको छ । घाट निर्माण पूरा नभइ अधुरो रहेको कारण प्रयोगमा आउन नसकेको स्थानीय बताउँछन् ।

हल्दिवारीमा व्यवस्थित आर्यघाट नहुँदा बर्खाको समयमा समस्या परिरहेको अवस्थामा स्थानीय बासिन्दासमेत रहेका प्रदेश सभा सदस्य चुडालको पहलमा बनिरहेको घाट असार २० सम्ममा तयार गरिसकेर हस्तान्तरण गर्ने गरि काम गरिरहेको उपभोक्ता समिति सचिव गिरीले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्