झापा, जेठ २७ । नरेन्द्र मोदीले भारतको प्रधानमन्त्रीको रुपमा आज तेस्रो पटक शपथ ग्रहण गर्दैछन् ।

फाइल फोटो

मोदीको शपथ ग्रहण समारोहमा भाग लिन प्रधानमन्त्री पुष्पकमल दाहालसहितको टोली आज त्यसतर्फ प्रस्थान गर्दैछ।

आज साँझ नेपाली समय अनुसार सवा ७ बजे हुने शपथ ग्रहण समारोहमा प्रधानमन्त्री दाहालको साथमा कानुनमन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साल, प्रधानमन्त्रीकी स्वकीय सचिव गंगा दाहाल र शिष्टाचार महापाल सहभागी हुनेछन्।
मन्त्रिपरिषद्को बिहीबारको बैठकले भारतीय समकक्षी मोदीको शपथग्रहणमा प्रधानमन्त्री प्रचण्ड सहभागी हुने निर्णय गरेको थियो। मोदीको शपथग्रहणपछि प्रधानमन्त्री प्रचण्ड र मोदीबीच आइतबारै साइडलाइनमा भेटवार्ता गर्ने कार्यक्रम छ । तर, यो शिष्टाचार वार्ता मात्रै हुने जानकारी भारतीय पक्षले दिएको छ । प्रधानमन्त्री प्रचण्ड भोलि मात्रै स्वदेश फर्किने छन्। प्रधानमन्त्रीको दिल्ली भ्रमणको सबै प्रबन्ध भारत सरकारले गर्नेछ ।

यसअघि प्रधानमन्त्री प्रचण्डले सन् २०२३ मे ३१ देखि जुन ३ सम्म भारतको औपचारिक भ्रमण गरेका थिए । मोदीको शपथग्रहणमा प्रधानमन्त्री प्रचण्डसँगै भारत सरकारले श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिंघे, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे र मोरिससका प्रधानमन्त्री प्रविन्द जगन्नाथलाई पनि निमन्त्रणा गरेको छ।

पहिलो पटक मोदीले २०१४ शपथ लिँदा नेपालबाट तत्कालीन प्रधानमन्त्री सुशील कोइराला सहभागी भएका थिए । दोस्रो पटकको शपथमा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी भएका थिए।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्