कुमरखोद , जेठ २७ । झापा गाउँपालिका वडा नं २ स्थित त्रिभुवन आधारभूत विद्यालयमा नेपाली सेनाको अरिदमन गण चारआली व्यारेकले विपदबाट जोगाउन स्थलगत तालिम अभ्यास गराएको छ ।

स्थानीयवासीहरुलाई बाढी आउनुभन्दा अगाडि पूर्वतयारी अवस्थामा रहन र सर्पदंशबाट कसरी बच्न सकिन्छ भनेर गणले जानकारी दिएको हो । नेपाली सेनाका अरिदमन गणका प्रमुख सेनानी प्राजु बस्न्यातले यस वर्षको मनसुनमा झापा जिल्ला सबैभन्दा बढी प्रभावित हुने हुँदा संभावित पालिकाहरुको पहिचान गरी विपद् पूर्वतयारी स्वरुप स्थानीयवासीलाई सुसूचित गराउन स्थलगत तालिम अभ्यासका कार्यक्रमहरु गर्दै आएको बताए ।

गणले विपद्को समयमा अपनाउनु पर्ने सावधानी , सर्पदंशवाट बाँच्न र अरुलाई बचाउन अपनाउनु पर्ने तरिका तथा विपद्को समयमा प्रयोग गरिने विभिन्न सामग्री निर्माण गर्ने सम्वन्धी जानकारीमूलक कार्यक्रम संचालन गरेको थियो । नेपालमा ८९ भन्दा बढी प्रजातिका सर्पहरु पाईएता पनि त्यसमा १७ प्रजातिका सर्पहरु विषालु रहेको गणका जमदार गणेशकुमार श्रेष्ठले बताए । उनले झण्डै ८० प्रतिशत सर्पहरु विषालु नहुने जानकारी गराएका थिए ।


कार्यक्रममा झापा गाउँपालिकाका कार्यवाहक अध्यक्ष अन्जुदेवी थपलिया , वडाध्यक्षहरु राजकुमार यादव , हिमालकुमार चम्लागाई , ताहिर मुल्वी , कृष्णप्रसाद राजवंशी , कुमरखोद रेडक्रस सभापति सुन्दरलाल गणेश , समाजसेवी जयनारायण शाह , उत्तमकुमार सुवेदीलगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्