झापा, जेठ २७ । गृहमन्त्री रवि लामिछाने विराटनगरमा आएका बेला महेन्द्र मोरङ क्याम्पस अगाडिका विरोध प्रदर्शनमा उत्रिएका विद्यार्थीहरूले प्रदेश योजना आयोगको गाडीमा आगजनी गरेका छन् ।


आज विहान साढे १० बजे कोशी प्रदेश योजना आयोगको को १ झ ६४४ नम्बरको स्कोरपियो गाडीमा विद्यार्थीहरुले आगजनी गरेका हुन् । प्रदेश योजना आयोगका उपाध्यक्ष डा.राजेन्द्र अधिकारी चढेको गाडीमा आगजनी भएको मोरङ प्रहरीले जनाएको छ ।

विद्यार्थीको समूहले आगजनी गर्नुअघि नेपाल विद्युत प्राधिकरणको पाँच वटा गाडी तोडफोड गरेका थिए । कन्चनजंगा पार्टी प्यालेस अगाडि रोकेर राखेको प्राधिकरणको बा१ञ १८८७, को१ञ २४१९, प्रदेश १–००१ ञ २७०१, प्रदेश १–००१ ञ २७९०, ८१८० नम्बरको गाडी तोडफोड गरेका थिए । तोडफोडबाट गाडी फुटेको सिसा फुटेको छ ।
मोरङको रंगेली नगरपालिकाका नगर रक्षक (नगर प्रहरी)माथि आक्रमण गरेको आरोपमा प्रहरीले ६ जना विद्यार्थीहरुलाई पक्राउ गरेको विरोधमा विद्यार्थीहरु आन्दोलित छन् । उनीहरुले पक्राउ परेका विद्यार्थीको रिहाइको माग राख्दै शुक्रबारदेखि आन्दोलन गरिरहेका छन् ।

पक्राउ परेको विद्यार्थीहरुले निजी विद्यालयहरुले आफूखुसी कानुनविपरीत शुल्क लिइरहेको तथा शिक्षक छनोटमा मनपरी गर्दै विद्यालयमा आफ्ना मान्छेलाई नियुक्ति दिलाएको भन्दै जेष्ठ १३ गते नगरपालिकाको कार्यालयमा ज्ञापनपत्र बुझाएका थिए । त्यसक्रममा विवाद हुँदा नगर प्रहरीमाथि हातपात भएको भन्दै प्रहरीले उनीहरुलाई पक्राउ गरेको छ ।

विद्यार्थीहरुले पक्राउको विरुद्ध विराटनगरको रोडशेष चोकमा केही समय सडक अवरुद्ध गर्दै प्रदर्शनसमेत गरेका थिए । पक्राउ परेका विद्यार्थीलाई बिनाशर्त रिहाई नगरे थप आन्दोलन गर्ने उनीहरुले बताएका छन् ।

पक्राउ पर्ने विद्यार्थीहरुमा रंगेली–६ का २३ वर्षीय दीपक यादव, २० वर्षीय राहुल यादव, रुकुम यादव, रंगेली–७ का १८ वर्षीय रमणकुमार राय, रंगेली–८ का १९ वर्षीय विषेक झा र रंगेली–२ का मिलन मिश्र रहेका छन् । पक्राउ परेको समूहले नगरपालिकाका कार्यवाहक प्रमुख एवं रंगेली–८ का वडाध्यक्ष ढकप्रसाद आचार्य र प्रमुख प्रशासकीय अधिकृत ओमकारप्रसाद न्यौपानेमाथि पनि दुर्व्यवहार गरेको प्रहरीको आरोप छ ।
उनीहरूविरुद्ध अभद्र व्यवहार मुद्दा चलाइ पाँच दिन म्याद थप भएको छ । पक्राउ परेका सबै रिहा हुनुपर्ने विद्यार्थीको माग छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्