अर्जुनधारा, जेठ २८। मनराम ग्रुपअन्तर्गत लायन्स मनराम प्रतिष्ठान २००५ ले झापा अर्जुनधाराका दुई वटा सामुदायिक विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ ।

अर्जुनधारा–९स्थित कालिस्थान माध्यमिक विद्यालय र वडा नं १० स्थित सिंहबाहिनी आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण गरिएको हो । नगर प्रमुख बलदेवसिंह गोम्देन तामाङको पहलमा प्रतिष्ठानले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सहयोग गरेको संस्थापक उपाध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । प्रतिष्ठानका प्रतिनिधि बसन्त पौडेलका अनुसार कालिस्थान माविमा २३५ जना विद्यार्थीका लागि १७ सय वटा कपी, नौ सय वटा बलपेन, दुई सय ७५ वटा पेन्सिल, एक सय वटा इरेजर र एक सय वटा सार्पनर वितरण गरिएको हो ।

त्यसैगरी सिंहबाहिनी आविमा पाँच सय ६६ वटा कपी, एक सय ५० वटा बलपेन, पाँच सय वटा पेन्सिल, दुई सयवटा इरेजर र दुई सयवटा सार्पनर वितरण गरेको जनाइएको छ । लायन्स मनराम प्रतिष्ठानले शिक्षा क्षेत्रमा सहयोग गर्दै आएको छ ।

प्रतिष्ठानले देशको ७७ वटै जिल्लाका १५४ वटा विद्यालयमा पुस्तकालय स्थापनामा सहयोग गरेको छ । खासगरी प्रतिष्ठानले इलाम , पाँचथर, ताप्लेजुङ र संखुवासभाको शैक्षिक क्षेत्रमा सहयोग गर्दै आएको जनाइएको छ ।
मनराम ग्रुपले बिर्तामोड १० मा मनराम गौशाला तथा छुर्पी प्रशोधन केन्द्र संचालन गरेको छ । त्यहाँ उत्पादित छुर्पी अमेरिका निर्यात हुने गरेको छ । वार्षिक १० लाख केजी छुर्पी अमेरिका पठाउने गरिएको प्रतिष्ठानका संस्थापक उपाध्यक्ष श्रेष्ठले जानकारी दिए ।

संस्थापक उपाध्यक्ष श्रेष्ठको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख तामाङ, अर्जुनधारा–१०का वडाध्यक्ष भूपेन्द्र न्यौपानेलगायतले शैक्षिक सामग्रीहरु विद्यार्थीलाई हस्तान्तरण गरेका थिए । उक्त कार्यक्रमको सञ्चालन शिक्षक गंगा पोखरेलले गरेकी थिइन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्