झापा, जेठ २८ । इलाममा तीन वर्ष यता सञ्चालन भइरहेको कृषि क्याम्पसलाई स्थानीय वसन्त खड्गीले जग्गा दान गरेका छन् । आफ्ना स्वर्गीय आमा–बुबा कृष्णमाया र चन्द्रबहादुरको स्मृतिमा खड्गीले क्याम्पसलाई जग्गा उपलब्ध गराएका हन् ।

खड्गीले करिब ३० लाख रुपियाँ मूल्य बराबरको एक रोपनी आठ आना जग्गा क्याम्पसलाई दान गरेको क्याम्पस सञ्चालक समिति अध्यक्ष जसबहादुर लुंगेलीले बताए । अहिले क्याम्पस सञ्चालन भइरहेको स्थान बसपार्क नजिकै यो जग्गा छ । अहिले प्राप्त जग्गामा क्याम्पसको भवन निर्माणका लागि प्रक्रिया अघि बढाइने पनि अध्यक्ष लुङ्गेलीले बताए ।

कोशी पहाडमै पहिलो र (बिएस्सी एजी) कृषि पढाइ हुने यो एकमात्र क्याम्पसमा देशभरका एक सय ४४ विद्यार्थी अध्ययनरत छन् । यहाँ कृषि अन्तर्गत बाली विज्ञान, माटो विज्ञान, बागवानी, लगायतका विषयहरू पढाइ हुने गरेको क्याम्पस प्रमुख डा.योगेन्द्रमान श्रेष्ठले बताए । श्रेष्ठका अनुसार स्थानीय सरकारले जिल्लामा सञ्चालन गरेको यो पहिलो क्याम्पस पनि हो । अघिल्लो कार्यकालमा महेश बस्नेत प्रमुख हुँदा इलाम नगरपालिकाले यो क्याम्पस सञ्चालनमा ल्याएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्