झापा, जेठ २८ । यस वर्षको मनसुनमा बाढी र डुबानको समस्याबाट बढी प्रभावित हुनसक्ने झापाका तीन पालिकामा नेपाली सेनाले विपद्सम्बन्धी पूर्वतयारी तालिम अभ्यास गराएको छ ।

विपदबाट जोगाउन नेपाली सेनाको अरिदमन गण चारआली व्यारेकले कचनकवल , झापा र गौरीगञ्ज गाउँपालिकामा गएर स्थलगत रुपमा पूर्वतयारी तालिम अभ्यास गराएको हो । कचनकवलको घेरावारी , झापा गाउँपालिकाको कुमरखोद र गौरीगञ्जको कोरोवारीमा पाँच दिनको तालिम अभ्यास गराएको हो । जसबाट पाँच सयभन्दा बढी स्थानीय लाभान्वित भएको गणले जनाएको छ ।

अरिदमन गणले संचालन गरेको पाँच दिनको स्थलगत तालिम अभ्यासको क्रममा बढी जोखिम भएका दक्षिणी भेगका बासिन्दालाई बाढी , डुबानलगायत सर्पदंशसम्बन्धी जनचेतना प्रदान गरिएको गणपति, प्रमुख सेनानी प्राजु बस्न्यातले बताए । साथै मनसुनको सिजनमा कुनै पनि किसिमको विपद आइपरेको खण्डमा सम्बन्धित स्थानमा खटिएका सुरक्षा निकायलगायत स्थानीयहरुसंग समन्वय गरी कार्य गर्न सहज हुने कुरा सिकाइएको गणपति बस्न्यातले जानकारी दिए ।

अन्तिम दिन जेठ २७ गते अरिदमन गणको एल.आर.पी.टोलीले गौरीगञ्ज गाउँपालिका २ स्थित कोरोवारी इलाकामा स्थानीय जनप्रतिनिधि,सुरक्षा निकायका प्रतिनिधि र स्थानीयको उपस्थितिमा डुबानमा परेका घाइते तथा बिरामीहरूको उद्धार तथा सर्पदंश सम्वन्धी जनचेतनामुलक कार्यक्रम संचालन गरेको थियो । गाउँपालिका अध्यक्ष फूलवती राजवंशी , उपाध्यक्ष पुजन न्यौपाने कुँवर , वडाध्यक्ष किनालाल राजवंशीलगायतको उपस्थिति रहेको कार्यक्रममा करिव १५० जनालाई तालिम दिइएको थियो ।

यस वर्षको मनसुनमा झापा जिल्लामा ४२ हजारभन्दा बढी मानिस बाढी र डुबानको समस्याबाट प्रभावित हुनसक्ने प्रक्षेपण गरिएको छ। जिल्ला विपद व्यवस्थापन समितिले तयार पारेको जिल्ला विपद प्रतिकार्य योजना २०८१ अनुसार करिब ४२ हजार मानिस बाढी र डुबानबाट प्रभावित हुने अनुमान गरिएको हो ।

समितिको प्रक्षेपणअनुसार १५वटै पालिकाका नौ हजार घरपरिवार मनसुनजन्य विपद्बाट प्रभावित हुनेछन्। जिल्लामा मनसुनजन्य विपद्मा बाढीको समस्या धेरै हुने गरेको विगतको तथ्याङ्कले देखाउँछ। उक्त अनुमान अनुसार अहिलेदेखि नै जोखिम न्यूनीकरण र व्यवस्थापनको तयारी तीव्र बनाइएको समितिले जनाएको छ।

झापाका नौवटा नदीमा आउने बाढीबाट सबैभन्दा धेरै प्रभावित हुने गरेका छन्। जिल्ला विपद व्यवस्थापन समितिको अभिलेखअनुसार कनकाई, मेची, बिरिङ, रतुवा, कमल, बनियानी, निन्दा, हडिया र टाङटिङ नदीमा आउने बाढीबाट स्थानीय बासिन्दा प्रभावित बन्ने गरेका छन्।

दक्षिण–पश्चिम झापाको बाढी र डुबानको जोखिममा रहेका बाह्रदशी, झापा र गौरीगञ्ज पालिकामा उद्धार तथा राहत कार्यका लागि रबर बोटको व्यवस्था गरिसकेको प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले बताए।

विपद् व्यवस्थापन समितिले तयार पारेको जिल्ला विपद् प्रतिकार्य योजना २०८१ अनुसार कनकाई नदीको कटान र डुबानले यस वर्ष झापा, गौरीगञ्ज, शिवसताक्षी र कनकाई पालिकाका दुई हजार दुई सय ४९ घरका १० हजार तीन सय ४५ जना विस्थापित हुने सम्भावना छ।

मेची नदीबाट मेचीनगर, भद्रपुर नगरपालिका र कचनकवलका एक हजार ९० घरका पाँच हजार १४ र विरिङ नदीबाट कनकाई, बाह्रदशी, कचनकवल, झापा, अर्जुनधारा र बुद्धशान्ति पालिकाका दुई हजार एक सय १५ घरका नौ हजार सात सय २९ जना विस्थापित हुने सम्भावना छ।

यसैगरी, रतुवा नदीबाट दमक, कमल, गौरादह र गौरीगञ्जका एक हजार तीन सय ३० घर, कमल र बनियानीबाट गौरीगञ्ज, शिवसताक्षी र कमलका एक हजार १५ घर, निन्दाबाट मेचीनगरका एक सय ५०, हडिया नदीबाट बुद्धशान्ति र मेचीनगरका तीन सय ५० घर, टाङटिङबाट अर्जुनधाराका दुई सय ५० घर र देउनियाँ नदीबाट भद्रपुर र हल्दिबारीका चार सय ४५ घर विस्थापित हुन सक्ने प्रक्षेपण गरिएको समितिका अध्यक्ष एवं प्रजिअ बाँस्तोलाले जानकारी दिएका छन्।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्