झापा,जेठ ३० । स्नातक तह चौथो वर्षको नेपाल अध्ययन विषयको प्रश्नपत्र अङ्ग्रेजीमा सोधेको भन्दै त्रिभुवन विश्वविद्यालयका विद्यार्थीहरूले आपत्ति जनाएका छन् । मंगलबार भएको नेपाल अध्ययन (एनपीएस ४०४) विषयको परीक्षामा प्रश्नपत्र अङ्ग्रेजीमा सोधिएको भन्दै विद्यार्थीहरूले आपत्ति जनाएका हुन् ।

उक्त विषयको परीक्षा पहिलो पटक भइरहेको हो । यसको अध्ययन समेत पहिलो पटक भएको त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र सङ्कायले जनाएको छ ।

उक्त विषयको सम्पूर्ण कोर्स समेत नेपाली भाषामा नै बनाइएको छ । त्यस्तै पाठ्यक्रम तथा पठनपाठन समेत नेपाली भाषामै हुने गरेको छ । तर, परीक्षामा प्रश्नपत्र भने अङ्ग्रेजीमा सोधिएको भन्दै विद्यार्थीहरूले आपत्ति जनाएका हुन् ।

मानविकी तथा सामाजिक शास्त्र संकायकी डीन प्राडा कुसुम शाक्यले पहिलो पटक भएकोले यस्तो भएको बताइन् ।

‘नेपाल अध्ययन नेपालको समग्र अध्ययन भएकाले यो विषयमा अङ्ग्रेजीमा प्रश्न आउनु स्वाभाविकै हो । यसमा विद्यार्थीहरूले कुरा उठाइरहेका छन् । त्यो त्यति सान्दर्भिक देखिँदैन,’ उनले भनिन् । एक विद्यार्थीले सबै कुरा नेपालीमै पढेको तर, प्रश्नपत्र अङ्ग्रेजीमा सोधिएको बताए ।‘मैले नेपालको संविधान नेपाली भाषामा पढे । किनकि कोर्स समेत नेपालीमै थियो । पढाई पनि नेपाली भाषामै भयो । तर, परीक्षामा प्रश्नपत्र भने अङ्ग्रेजीमा आयो । मेरो गुनासो अङ्ग्रेजीमा प्रश्नपत्र आयो भन्दा पनि विद्यार्थीलाई किन झुक्क्याएको भन्ने हो,’ ती विद्यार्थीले भने ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्