बिर्तामोड,जेठ ३० । जनता समाजवादी पार्टीका नेता प्रदिप यादवले अदालतबाट फैसला भएको २४ घण्टाभित्र उपेन्द्र यादवको दम्भ पत्तासाफ हुने बताएका छन् ।

स्वास्थ्यमन्त्री समेत रहेका यादवले संघीयताका विषयमा उपेन्द्र खुलेर बोल्न नसकेको र कार्यकर्ताहरुसँग योजना माग्दा कमिशन बिना काम नगरेको हुँदा उनलाई छाड्न बाध्य भएको बताए ।
‘संगठनको अध्यक्ष भएपछि कार्यकर्तामाथि गरेको पीडा हामीले बुझेका छौं । उनको यो दम्भ सधैंका लागि नासिएर जान्छ’ उनले भने ।

झापा जिल्ला भेला तथा रुपान्तरण कार्यक्रमअन्तर्गत बुधबार बिर्तामोडमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले १७ वर्ष आफूहरुलाई झुल्याएको र कार्यकर्ताहरुको भावनामा ठेस पुर्याएको कारण उनलाई गलत्याएर नै निकालेको बताए ।
उनले बीरगञ्जका मेयरलाई मात्र होइन, समाजवादीबाट मुख्यमन्त्री बनेकालाई समेत आफ्नो अण्डरमा पारेर पुतलीलाई नचाएजस्तै गरेको दुव्र्यवहार अब मधेसवादी कार्यकर्ताहरुले राम्ररी बुझेको हुँदा अदालतको फैसलापछि उनी बढारिने ठोकुवा गरे ।

मन्त्री यादवले नेता अशोक राईको सालिन व्यवहारप्रति सम्मान गर्नुपर्ने बताउँदै अशोक राईले पद दुरुपयोग गरेर राष्ट्रलाई क्षति पुर्याउने काम नगरेको बताए ।
अशोक राईप्रति गुन गाउँदै मन्त्री यादवले भने,‘ जिल्ला जिल्लाबाट के के काम गर्न सकिन्छ । जिल्लाको सिफारिसमार्फत आउनुहोस् । त्यसको सहयोगको लागि २४ सैं घण्टा तयार रहने छु ।’

रुपान्तरण अभियानका अध्यक्ष दिपेनवाला राईको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि रणधोज कन्दङवाले संघीयताभित्रको पहिचान झुन्ड झुन्डबाट प्राप्त नहुने बताउँदै उपेन्द्रको भरमा परेर पीडित नबन्न सबैलाई आह्वान गरे ।
कार्यक्रममा राजनीतिक समितिका सदस्य रमेश राई, आङकाजी शेर्पा, आरसी तुम्सा, प्रदेश सांसद निर्मला तावा आदिले उपेन्द्रको राजनीतिक दृष्टिकोण वर्तमान जनतालाई दिने अधिकार नभएको बताए ।सोही दिन रुपान्तरणअन्तर्गत झापा जिल्लाको नयाँ कार्यसमिति चयन गरिएको छ ।

अध्यक्षमा समर राई, उपाध्यक्षमा सन्तोष गणेश, ज्ञानेन्द्र कुरुम्बाङ, सचिवमा रोम घिमिरे, उपसचिवमा लक्ष्मी सुब्बा, चिजा राई, कोषाध्यक्षमा गीता राई रहेका छन् ।
सदस्यहरुमा हर्क खालिङ, उदय गुरुङ, रमन राजवंशी, बालकुमार भुजेल, बासुदेव राई, पल्टन ताजपुरीया, विष्णु महतो, सुदिप थुलुङ, प्रेम थुलुङ, चित्रबहादुर राई, राजेश देवान, साम मोहम्मद मिया, अमला राई, पूर्णकुमारी मगर राईलगायत २५ जना रहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्