झापा, जेठ ३२ । सुनसरीको भोक्राहा नरसिंहमा सम्पन्न भएको उपाध्यक्ष प्रथम महिला खो खो प्रतियोगिताको उपाधि विभागीय टिम त्रिभुवन आर्मी क्लवले हात पारेको छ । फाइनल खेलमा सुनसरी खो खो टिमलाई १२ अङ्कविरुद्ध २६ अङ्कले पराजित गर्दै आर्मीले उपाधि चुमेको हो ।

देशभरका सात महिला खो खो टिमको सहभागितामा सम्पन्न भएको लोपोन्मुख खो खो खेलमा उपाधि चुमेको त्रिभुवन आर्मी क्लबले नगद २५ हजार रुपियाँ, शिल्ड र प्रमाणपत्र प्राप्त गरेको छ ।

त्यसैगरी, पराजित हुँदै उपविजेता बनेको सुनसरीले नगद १५ हजार रुपियाँ र प्रमाणपत्र प्राप्त गरेको छ । साथै प्रतियोगितामा धनुषा जिल्ला तेस्रो स्थानमा चित बुझाउँदै ११ हजार नगद र प्रमाणपत्र प्राप्त गरेको आयोजक संस्था खो खो सङ्घ कोशीका कपिलदेव यादवले जानकारी दिए ।

खेलका विजेता, उपविजेता र तेस्रो पुरस्कार पाउनेहरुलाई भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष अजमल अख्तर आजाद र उपाध्यक्ष सुनिताकुमारी उराँव, वडा अध्यक्ष बौवालाल यादव लगायतले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए । प्रतियोगितामा बारा, धनकुटा, धनुषा, सुनसरी, मोरङ, सर्लाही र आर्मीसहित टिमले सहभागिता जनाएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्