कुमरखोद, जेठ ३२ । झापा गाउँपालिकाले आफ्ना पालिकाभित्र रहेका कृषकहरुलाई ५० प्रतिशत अनुदानमा कृषि उपकरणहरु वितरण गरेको छ ।

झापा गाउँपालिकाको आर्थिक वर्ष २०८०–८१ को स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत आज एक कार्यक्रमकाबीच कृषकहरुलाई पानी तान्ने मोटर र औषधी छर्नका लागि स्प्रेटेंकी वितरण गरिएको हो । झापा गाउँपालिकाको कृषि शाखाले कृषकलाई ३ हजार ५० रुपैयाँ पर्ने स्प्रेटेंकी १ हजार ५ सय २५ रुपैयाँमा र १६ हजार रुपैयाँ पर्ने पानी तान्ने मोटर ८ हजार रुपैयाँमा उपलब्ध गराएको हो । साझेदारी कार्यक्रमअन्तर्गत कृषकलाई ५० प्रतिशत अनुदानमा २५० थान स्प्रेटेंकी र १६६ थान पानी तान्ने मोटर वितरण गरेको हो ।

झापा गाउँपालिकाले कृषकलाई सिंचाई मोटरमा ६० प्रतिशत बिजुली महशुल तिर्दै आएकोले यहाँका अधिकाँश कृषकहरु मकै खेतीतर्फ आकर्षित भएका छन् । झापा गाउँपालिकाका कृषि शाखा प्रमुख जगतनारायण मण्डलका अनुसार यस पालिकामा कृषकहरुले ७ हजार ५ सय हेक्टर क्षेत्रफलमा मकै खेती गरेका छन् । अधिकाँश कृषकहरुले मकै खेती गर्न थालेपछि झापा गाउँपालिकाले २०७५ सालमा पालिकाको निर्णयबाट मकैजोन घोषणा गरेको पालिकाका कार्यवाहक अध्यक्ष अन्जुदेवी थपलियाले बताईन् । पालिकालाई मकैजोन घोषणा गरेपछि यहाँका कृषकहरुलाई प्रधानमन्त्री कृषि परियोजनाअन्तर्गत कृषि ज्ञान केन्द्रबाट विभिन्न सुविधाहरु उपलब्ध गराइरहेको कावा अध्यक्ष थपलियाले बताईन् ।

कार्यक्रममा कावा अध्यक्ष थपलिया , वडाअध्यक्षहरु राजकुमार यादव , हिमालकुमार चम्लागाई , सुभासलाल गणेश , कृष्णप्रसाद राजवंशी , नविनकिशोर थापा , सखिचन्द्र ठाकुरलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन कृषि शाखा प्रमुख जगतनारायण मण्डलले गरेका थिए भने स्वागत मन्तव्य वडाध्यक्ष सखिचन्द्र ठाकुरले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्