माइधार, जेठ ३२ । शिवसताक्षी नगरपालिका वडा नं १० को वडा कार्यालयमा एउटा अनौठो नियम छ । जुन नियम देशका अरु ७५३ स्थानीय तहका वडामा सायदै होला ।


वडाका जनप्रतिनिधि र कर्मचारीले बनाएको यो नियम यतिबेला स्थानीय स्तरमा निकै चर्चामा छ । जनप्रतिनिधि र कर्मचारीले बनाएको यो नियमको यतिबेला सामाजिक संचालमा चौतर्फी प्रशंसा हुन थालेको छ ।
कार्यालय पुग्नेबित्तिकै उनीहरूले कम्तीमा ७ मिनेट कार्यालय परिसरका बोटबिरुवा र फुल गोड्नु पर्ने नियम छ । ‘कुनै कारणले फूल गोड्न नसक्नु अर्कै कुरा हो । होइन भने वडाका जनप्रतिनिधि र कर्मचारीलाई यो नियम अनिवार्य छ,’ वडा अध्यक्ष हकबहादुर सिगुले भने ।

‘विहान कार्यालय आएपछि वडा कार्यालय परिसरका बोटबिरुवा गोड्नु पर्छ । आवश्यकता भए पानी लगाउनुपर्छ । फूलका बिरुवा उमार्ने डयाङ बनाउनु पर्छ । वडामा भएका औजारको सहायतामा हामी सबैको बिहान ७ मिनेटको काम एउटै हुन्छ,’ वडा अध्यक्ष सिगुले भने । उनले कर्मचारी र जनप्रतिनिधिको सम्बन्ध पनि यो नियमले प्रगाढ बनाएको बताए । सबैलाई पदमा होचो उँचो भएकोे अनुभूति हुँदो रहेनछ ।

बिहीवार वडा कार्यालयमा ९ः३० बजे प्रतिदिन दैनिकको टोली पुग्दा कर्मचारी तेजप्रसाद सुवेदी फूलको बिरुवा गोडिरहेका थिए । करिब दुई महिनादेखि बनाइएको यो नियमले वडा कार्यालय परिसरका बोटबिरुवा निकै मौलाएका रहेछन् ।

वडा अध्यक्ष हर्कबहादुर सिगु ९ः ४३ मा कार्यालय आए । कार्यालय आउँदा उनले वडाबासीका घरबाट फूलको दल (बीउ) पनि लिएर आएका थिए । आफू सवार भएर आएको मोटरसाइकल पार्किङ गर्नेबित्तिकै कुटो निकालेर बिरुवा गोड्नतिर उनी लागे ।
करिब १२ मिनेटजति फूलका बिरुवा गोडेर दल राख्ने ठाउँ सम्याए । वडा कर्मचारी सुवेदीलाई उनले भने, ‘तेजप्रसादजी, गाउँबाट सयपत्री फूलको दल लिएर आएको छु । यसलाई कुनै पनि हालतमा उमार्नुपर्छ है ।’ उनले सयपत्रीको दलबाट उम्रिएको बिरुवाले फूल दिएपछि दशै तिहारमा वडाबासीले पनि उपभोग गर्न सक्ने बताए ।

१० बजेर २ मिनेटमा वडा सदस्य दीपक पोखरेल पनि वडा कार्यालय आए । उनले पनि कर्मचारी र वडा अध्यक्षजस्तै फलफुलका बोटबिरुवा सुमसुम्याउन थाले । उनले भने,‘वडा कार्यालयमा मालीको काम हामी आफैं गर्छौं । यो कामका लागि सरकारले पैसा खर्च गर्नु पर्दैन ।’ जनताले मत दिएर पठाएका जनताकै कामका लागि भएको उनले बताए । ‘यो काम पनि हामीले जनताकै लागि गरेका हौं ।’ उनले अगाडि भने ।

कर्मचारी र जनप्रतिनिधिसँगै कतिपय सेवाग्राही वडा कार्यालयका फुलबुट्टाहरू सुमसुम्याउन आउने गरेका छन् । स्थानीय श्याम श्रेष्ठले भने, ‘अब केही समयपछि वडा कार्यालय फूलैफूलको बगैचा हुने छ ।’ आहा कति राम्रो फूलका बोट । कति जाँगरिला प्रतिनिधि र कर्मचारी भनेर स्थानीय वडाबासीले प्रतिक्रिया दिँदा आफूलाई आनन्द आउने वडा अध्यक्ष सिगुले बताए ।
वडा परिसरमा धुपी, घडी , पारिजात, सयपत्री, पाल्पाली , बारमासे , बाबरीलगायतका फूलका बिरुवा लगाइएको छ । यी सबै बिरुवा जनप्रतिनिधि र कर्मचारीले वडाका स्थानीयवासीसँग मागेर ल्याएका हुन् । वडाबासीसंग मागेर ल्याएको फूलका बिरुवा आफै रोपेको वडा सदस्य दिपक पोख्रेलले बताए ।

वडा कार्यालय परिसरमा एक बिघा पाँच कठ्ठा जग्गा छ । यो जग्गा क्षेत्रलाई फलफूल तथा बगैँचाका रूपमा स्थापित गर्ने वडा अध्यक्ष सिगुले बताए । ‘हामी विभिन्न जातका फलफुलका बोटबिरुवा यो जग्गा परिसरमा लगाउँछौ । जसले वडा कार्यालय परिसरको सौन्दर्यता बढाउनुका साथै व्यावसायिक रूपमा फूलको उत्पादन गर्न सकिने उनले बताए ।
कतिपय फूलमा औषधीय गुण पनि हुने हुँदा वडा कार्यालय परिसरमा फलफूलका बिरुवा रोपिएको वडा कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्