झापा, असार १ । डेङ्गु रोगको सङ्क्रमण ७१ वटा जिल्लामा फैलिएको छ । गत जेठ ११ गतेसम्म ५७ जिल्लामा फैलिएको डेङ्गु हाल ७१ जिल्लामा पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखा प्रमुख डा गोकर्णप्रसाद दाहालले मौसम परिवर्तनसँगै गर्मीका कारणले डेङ्गुको सङ्क्रमण बढेको बताए ।

उनले गर्मीमा मानिसले पानी सङ्कलन गरेर राख्ने र सङ्कलन गरिएको पानीमा लामखुट्टे रहने भएकाले डेङ्गुको जोखिम बढेको बताए । “गर्मीमा पानी सङ्कलन गरेर राख्ने गरिन्छ । त्यसरी सङ्कलन गरिएको पानीमा लामखुट्टेले फुल पार्दछ । सफा पानीमा त्यही लार्भा बन्ने र मानिसलाई टोक्ने गर्दछ”, उनले भने ।

उनका अनुसार ७१ जिल्लामा एक हजार एक सय ३० जनामा सङ्क्रमण देखिएको छ । गत वर्ष ७७ जिल्लामा ५१ हजार एक सय ४३ जनालाई डेङ्गु रोगको सङ्क्रमण देखिएको थियो । उनका अनुसार कोशी प्रदेशमा दुई सय ७२, मधेस प्रदेशमा ३०, बागमती प्रदेशमा तीन सय ९०, गण्डकी प्रदेशमा एक सय ७५, लुम्बिनी प्रदेशमा एक सय ३२, कर्णाली प्रदेशमा १६ र सुदूरपश्चिम प्रदेशमा एक सय १५ जनामा सङ्क्रमण देखिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्