झापा,असार १ । कोचिला राज्यको मुद्धा उठाएर लथालिङ्ग छोडेको सत्तासिन नेकपा माओवादी केन्द्रका नेतृत्वप्रति कोचहरु खनिएका छन् । जातीय मोर्चाहरुलाई अपांग बनाउँदै गए माओवादी पार्टी अझ सकिदै जाने उनीहरुले चेतावनीसमेत दिएका छन् ।

माओवादीनिकट कोचिला राष्ट्रिय मुक्ति मोर्चाद्वारा आज बिर्तामोडमा आयोजित केन्द्रीय भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै कोच कार्यकर्ताहरुले माउ पार्टीप्रति तीब्र आक्रोश व्यक्त गरेका हुन् । माओवादीका केन्द्रीय उपमहासचिव हरबोल गजुरेल , केन्द्रीय सदस्यहरु सावित्रीकुमार काफ्ले, शिवकुमार मण्डल , प्रदेश अध्यक्ष हर्कबहादुर नेम्बाङ, पूर्वमन्त्री झलकसिंह दर्लामीलगायतका नेताहरुको सामुन्ने कोचहरुले आफ्ना कुण्ठित आवाज पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाललाई लगेर सुनाइदिन ध्यानाकर्षणसमेत गराए ।

कार्यक्रममा बोल्दै हल्दिवारीका पूर्व जनप्रतिनिधि खगेन राजवंशीले पार्टीको प्रदेश विकास परिषदमा मनोनित १५ जनामध्ये ११ जनालाई एउटै जातिबाट राखिएकोमा घोर आपत्ति जनाए । उनले पार्टीले कोचहरुलाई उचित स्थान नदिएको भन्दै झापामा कोचहरुले नै माओवादी पार्टी थामिदिएको स्पष्ट पारे । गत स्थानीय तहको निर्वाचनमा माओवादी पार्टीले मुश्किलले ७ वटा वडाध्यक्ष पद जितेको छ । त्यसमध्ये ४ जना कोच समुदायका हुन् । उनले पूर्णसिंह राजवंशी , किर्तीकुमार राजवंशीजस्ता कोच अगुवाहरुले समेत ठाउँ नपाएको अबस्थामा कोच नेतृत्वहरु सुरक्षित नभएसम्म कोचिलाको मुद्धाले ठाउँ नपाउने र पूर्वमा माओवादी पार्टीको राजनीति पनि नचल्ने दावी गरे । सशस्त्र द्वन्द्वको बेला अन्य जातिभन्दा अग्रस्थानमा रहेर कोच समुदायले दिएको बलिदान र योगदानलाई मूल्यांकन गर्न नसकेको उनको गुनासो थियो ।

पार्टीका मोरङ रंगेलीका नगर सचिव बद्रीनारायण राजवंशीले माओवादीले पहिचानको मुद्धा उठाएर छोडेकोमा घोर आपत्ति जनाए । कोच राज्य र त्यस राज्यको मुख्यमन्त्रीमा पूर्णसिंह राजवंशीलाई घोषणा गरेर पार्टीले एकाएक कोचको मुद्धा छोड्नुमा नेतृत्वको ठूलो कमजोरी भएको उनले औल्याए । झापा , मोरङ र सुनसरी जिल्ला कोचिला राज्य घोषणा नभएसम्म आफूहरु नथाक्ने उनले चेतावनी दिए ।

मोरङ कानेपोखरीका बमबहादुर राजवंशीले कोचिला मुक्ति मोर्चा कमजोर बन्दा र कोचहरु पलायन हुँदै गर्दा आफूलाई कोच भन्न लाज लागेको प्रतिक्रिया दिए । कलवलगुडीमा कोचिला राष्ट्रिय मुक्ति मोर्चाको प्रथम अधिवेशनबाट केन्द्रीय सदस्य चयन भएका राजवंशीले विगतको जोश जाँगर स्मरण गर्दै माओवादी पार्टीले जातीय मोर्चा जन्माएर अपांग बनाएको आरोप लगाए । ‘ अब कोचिला मुक्ति मोर्चा कसको लागि , केको लागि र किन चाहियो ?’ उनले प्रश्न गर्दै भने ,‘अरुलाई भोट दियो , जिताएर पठायो, भोट बैंकको लागि मात्र हो भने काम छैन ।’ कोचहरु सुकुम्वासी बन्दै गएको र जनजीविका चलाउन गाह्रो हुँदै गएकाले अब कोचहरुले मोर्चामा नलागेर परिश्रम गरेर खानुपर्ने उनको सुझाव थियो ।

मोरङकै खड्गबहादुर राजवंशीले बोल्ने एउटा तर गर्ने अर्को स्वभाव भएका पार्टी अध्यक्ष दाहाललाई पार्टी नीति सही रुपमा कार्यान्वयन गर्न आग्रहसहितको सन्देश पुर्याइदिन आग्रह गरे । शिक्षकसमेत रहेका राजवंशीले पार्टी नेतृत्व सच्चिएर नआएसम्म राजनीतिमा टिक्न नसक्ने दावी गरे । प्रदेश नामकरणको सन्दर्भमा अध्यक्ष दाहालले कोचिलाको शव्द उच्चारणसमेत गर्न नसक्नु दुर्भाग्य भएको उनको भनाई थियो ।

माओवादीका प्रदेश कमिटीका सल्लाहकार खुल्लु राजवंशीले कोचिला मोर्चासंगै सबै जातीय मोर्चाहरुलाई बेहाल बनाएर माओवादीले ठूलो धोका दिएको आरोप लगाए । जातीय मोर्चाहरु अगाडि नबढेसम्म पार्टी अघि नबढ्ने उनले दावी गरे ।

मोरङका राजकुमार राजवंशीले पार्टी नेताले होइन , कार्यकर्ताले बनाउने भएकाले पार्टी नेतृत्वलाई सचेत रहन चेतावनी दिए । गौरादहका तीर्थ राजवंशीले बेपत्ता बनाइएका कोचिला मोर्चाका संस्थापक चतुरमान राजवंशीकै बारेमा समेत पार्टीले बेवास्ता गर्दै आएको आरोप लगाए । उनले अब पनि मोर्चालाई भोट बैंकको रुपमा प्रयोग नगर्न चेतावनी दिए ।

हल्दिवारी गाउँ कमिटीका सचिव जीत राजवंशीले कोचिला मोर्चालाई जीवन्त बनाउन पार्टी नेतृत्व लाग्नुपर्नेमा जोड दिए ।अन्य कोच नेता कार्यकर्ताहरुले पनि प्रदेशको नामकरणमा पार्टीले कोचिला प्रदेशको मुद्धा छोडेकोमा असन्तुष्टि जनाएका थिए ।

कोचिला राष्ट्रिय मुक्ति मोर्चाकी संयोजक तथा पार्टीकी केन्द्रीय सदस्य ममता ताजपुरिया राजवंशीको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय उपमहासचिव हरबोल गजुरेल , केन्द्रीय सदस्यहरु सावित्रीकुमार काफ्ले, शिवकुमार मण्डल , प्रदेश अध्यक्ष हर्कबहादुर नेम्बाङलगायतले कोचहरुको गुनासो जायज रहेको भन्दै त्यसप्रति पार्टी गंभीर रहेको बताए । मोर्चाका केन्द्रीय सचिव किर्तीकुमार राजवंशीले संचालन गरेको कार्यक्रममा स्वागत मन्तव्य केन्द्रीय सदस्य पुकार राजवंशीले गरेका थिए ।

पछिल्लो समय माओवादी पार्टीप्रति असन्तुष्ट देखिदै आएका कोचिला मोर्चाका पूर्व अध्यक्ष तथा पूर्व सांसद पूर्णसिंह राजवंशी त्यस कार्यक्रममा अनुपस्थित रहेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्