झापा, असार २ । बाढी र पहिरोका कारण ताप्लेजुङ सिरिजंगा गाउँपालिका–६ मामांखेका २२ परिवार विस्थापित भएका छन् ।

२४ वटा घर जोखिममा रहेको वडा कार्यालयले जनाएको छ । पहिरोले पाइप बगाएपछि त्यहाँका तीन सय बढी घर खानेपानीको समस्यामा परेका छन् ।

वडा सचिव विशालकुमार शाहका अनुसार भीममाया गुरुङ र गौरीमाया लिम्बूको घर पहिरोले पूर्णरुपमा पुरेको छ । गुरुङकोमा तीन र लिम्वूकोमा दुई जना बस्दै आएका थिए । पूर्णरुपले विस्थापित हनेहरुमा हर्कमाया लिम्बू, रनबहादुर लिम्बू, पर्शुराम लिम्बू, गंगाकमारी गौतम, भिमकुमार लिम्बू, शेरबहादुर लिम्बू, मनोज राई र कल्पना लिम्बूको परिवार रहेका छन् ।

यस्तै, मान लिम्बू, जगतबहादुर लिम्बू, बिरबहादुर लिम्बू, इन्द्रबहादुर भट्टराई, यामबहादुर लिम्बू, बुद्धिराज लिम्बू, रविबहादुर लिम्बू, रनकुमार लिम्बू मावो, सरस्वता लिम्बू, नारायणप्रसाद भट्टराई, जानुका भट्टराई र पूर्णप्रसाद गौतमको परिवार विस्थापित भएका छन् । उनीहरुका ८८ जना परिवारका सदस्य छन् । विस्थापितलाई विद्यालय भवन र छरछिमेककोमा राखिएको वडाध्यक्ष शुक्रराज लिम्बूले जानकारी दिए ।

पहिरोबाट पूर्णबहादुर लिम्बू, गणेशबहादुर लिम्बू, पदमबहादुर लिम्बू, शेरबहादुर लिम्बू, तेजबहादुर लिम्बू, सिरानेराम लिम्बू, रनबहादुर गुरुङ, आइन्द्र राई र मनप्रसाद भट्टराईको घर जोखिममा रहेको वडा कार्यालयले जनाएको छ ।

यस्तै इन्द्रबहादुर लिम्बू, मनबहादुर लिम्बू, मघनाथ भट्टराई, विदुर मावो, लाखबहादुर लिम्बू, दिलबहादुर लिम्बू, सूर्यकुमार लिम्बू, टेकबहादुर लिम्बू, भिमकुमार लिम्बू, टिकामाया काङवा लिम्बू, इन्द्रबहादुर लिम्बू क र ख, पदमबहादुर लिम्बू, जितबहादुर लिम्बू र बिष्णुकुमारी लिम्बूको घर उच्च जोखिममा रहेका छन् । उनीहरुका ७२ जना परिवार सदस्य रहेको वडा कार्यालयले जनाएको छ । घरको माथिबाट पहिरो झरेको, दायाँ बायाँ पहिरो गएको र घरको मुनिबाट पहिरो जान थालेको अवस्था रहेको वडा कार्यालयले जनाएको छ ।

पहिरोले खानेपानीका मुहान र पाइप बिगार्दा झण्डै तीन सय परिवार खानेपानीवाट बञ्चित हुनुपरेको छ । गाउँपालिका अध्यक्ष लालकृष्ण चौहान बर्षा नरोकिएकाले उद्धार, राहत वितरणमा समस्या भएको बताउँछन् । वर्षा रोकिनासाथ पाल, कम्बल, खाद्यान्नलगायतका राहत सामग्री पुर्याउने उनले बताए ।

त्यस्तै पहिरोको जोखिम बढेपछि पाँचथरको याङवरक गाउँपालिका ३ का ६० घर परिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।
साविक ओयाम गाविसका चोथ्रोक, फाक्लुङमा बसोबास गर्दै आएका ती घर परिवारलाई वडा कार्यालय, गाउँपालिका र प्रहरीको सहकार्यमा सुरक्षित ठाउँमा सारिएको हो ।वडाध्यक्ष बिमल राईका अनुसार चोथ्रोकका नागरिकलाई नजिकै रहेको सेमिच्याङ भवन र फाक्लुङका स्थानीयलाई सिरान गाउँका स्थानीयको घरमा सारिएको हो ।

शनिबार रातिदेखिको अविरल वर्षाका कारण ओयामको सामाखु, चोथ्रोक, फाक्लुङ र वडा नम्बर २ को सेरेजा लगायतका स्थान जोखिममा परेका छन् । ‘ठाउँ ठाउँमा पहिरो गएको छ, दर्जनौं स्थानमा बाटोघाटो र खानेपानी पाइपलाइनमा क्षति पुगेको छ,’ राईले भने ।

यसैबीच मध्यपहाडी राजमार्गअन्तर्गत ओयाम फलैंचा खण्डमा पर्ने रिजाल भीरमा आइतबार बिहान पहिरो जाँदा सवारी आवागमन ठप्प भएको छ । रिजाल भीरमा ठूलो पहिरो गएकाले तत्काल पन्छाउने सम्भावना नरहेको प्रहरीले जनाएको छ ।
प्रहरी नायव उपरीक्षक हेमन्त भण्डारीका अनुसार दिउँसो पहिरो पन्छाउन पठाइएका उपकरण वर्षाका कारण बाटोमै रोकिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्