झापा, असार २ । प्रदेश नं. १ पुनः नामांकन संयुक्त संघर्ष समितिले नयाँ चरणको आन्दोलन सुरु गर्ने भएको छ ।

ताप्लेजुङको फुङलिङ बजारमा बसेको बैठकले गरेको निर्णयहरु पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो । पहिचानको मुद्दालाई स्थानीय तहसम्म लैजान प्रदेशव्यापी प्रशिक्षण, संगठन विस्तार अभियान असार १५ गतेदेखि कार्तिक १५ गतेसम्म सञ्चालन गर्दै निर्णायक आन्दोलन गर्ने निर्णय गरिएको छ । योसँगै इलाम २ को उपचुनावबाट एकल जातिवादी सत्तालाई चुनौती दिएको र पहिचानको मुद्दालाई प्रतिपक्षीय विचार स्थापित गरेको मतपरिणामलाई सकारात्मक रुपमा लिइएको छ ।

यस्तै मुकुमलुङमाथि भएको सांस्कृतिक अतिक्रमण र केबलकार निर्माण खारेजीको लागि संघर्षरत मुक्कुमलुङ ताः ङसेप र फाः सिङ चेम्भोसँगै प्रदेश नं. १ पुनः नामांकन संघर्ष समितिले संयुक्तरुपमा संघर्ष गर्ने निर्णय गरिएको जनाइएको छ ।

संयुक्त संघर्ष समितिको समन्वयरत संस्था किरात याक्थुङ चुम्लुङ संघीय अध्यक्ष प्रेम एक्तेनको अध्यक्षतामा बसेको बैठकमा पहिचान पक्षधर नेताहरूको उपस्थिति रहेको थियो । कियाचु अध्यक्ष एक्तेन, नेपाल आदिवासी अध्यक्ष ग्याल्जे शेर्पा, पहिचानसहितको प्रदेश नं. १ अध्यक्ष डकेन्द्रसिंह थेगिम, किरात राई यायोक्खा अध्यक्ष जीवन हाताचो राई र नेपाल शेर्पा संघ महासचिव लाक्पा शेर्पाद्वारा हस्ताक्षरित उक्त निर्णयमा कोशी नाम खारेजी आन्दोलनलाई नयाँ चरणमा सुरु गर्ने भनिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्