लक्ष्मी उप्रेती,
मेचीनगर । कोशी प्रदेश सरकारका खानेपानी, सिँचाई तथा ऊर्जा मन्त्री एकराज कार्कीले अहिले अव्यवस्थित र अस्तव्यस्त रहेका खानेपानीलाई व्यवस्थितरुपमा सञ्चालन गर्नका लागि प्रदेश सरकारले खानेपानी ऐन ल्याउन लागेको बताएका छन् । आफ्नो खुशीले अब खानेपानीका ट्यांकी नचल्ने भएकाले यसलाई व्यवस्थित बनाउन पनि खानेपानी ऐन र नीति बनाउन सरकार लागिपरेको मन्त्री कार्कीको भनाई छ ।


झापाको मेचीनगर—६ स्थित काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको एक साताअघि सम्पन्न निर्वाचनबाट निर्वाचित सञ्चालक समितिका पदाधिकारी, सदस्य, लेखा समिति संयोजक सदस्यहरुको पद तथा गोपनियताको सपथ ग्रहण र पद हस्तान्तरण कार्यक्रममा बोल्दैं मन्त्री कार्कीले यस्तो बताएका हुन् ।

‘शुरु शुरुमा पव्लिक क्याम्पस सञ्चालन गर्न निकै होडबाजी हुन्थ्यो, पछिल्लो समय खानेपानीका ट्यांकी निर्माण गर्न यस्तै होडबाजी चलेको छ’ कार्यक्रमका प्रमुख अतिथि रहेका मन्त्री कार्कीले भने,‘त्यसरी सञ्चालन गरिएका संरचनाको हालत कस्तो छ ? जीर्ण अवस्थामा पुगेर सकिने अवस्थामा छन् । त्यसकारण पनि ती संरचनाको हालत यो अवस्थामा पुगेकाले संरक्षणका लागि अब कोशी प्रदेश सरकारले त्यसलाई व्यवस्थित गर्न पनि खानेपानी ऐन ल्याउन लागेको हो ।’

अहिले पनि सबै जनताको शुद्ध, सफा र स्वच्छ खानेपानीमा पहुँच नभएको मन्त्री कार्कीको भनाई थियो । अब पालिकाभित्र सञ्चालनमा रहेका खानेपानीहरु स्थानीय सरकारको स्वामित्वमा रहनुपर्ने भन्दैं मन्त्री कार्कीले खानेपानीको पहँुच नपुगेका ठाउँमा खानेपानी पुर्याउन प्रदेश सरकारबाट वा स्थानीय सरकारको स्वामित्वमा रहेका खानेपानीहरुबाट जडान भएको धाराको १० प्रतिशत धारा निःशुल्क जडान गर्नुपर्ने स्पष्ट पारे । खानेपानी हरेक नागरिकको आधारभूत आवश्यकता रहेको भन्दैं उनले अब हरेक स्थानीय सरकार आफ्ना नागरिकलाई कसरी शुद्ध, सफा र स्वच्छ पिउने पानी उपलब्ध गराउने सोचका साथ लगानी गर्न पछि हट्न नहुने बताए । कोशी प्रदेश सरकारको पहिलो प्राथमिकतामा शुद्ध र स्वच्छ खानेपानी परेकाले हरेक जनतालाई यो सुविधाबाट बञ्चित नगराउन यसमा बजेट विनियोजनसमेत गरेको जानकारी दिए । कोशी प्रदेश सरकारले भर्खरै प्रस्तुत गरेको बजेटमा खानेपानी प्राथमिकतामा परेको छ ।

अहिले पानीको तह घट्दै गएकाले अबको लडाई विद्युत वा अन्य क्षेत्रमा नभएर पानीमा हुने र सतह बचाउन त्यसक्षेत्रमा काम गर्नुपर्ने उनको भनाई थियो । मन्त्री कार्कीको उपस्थितिमा निर्वाचन समितिका संयोजक राजु कार्कीले नवनिर्वाचितहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए । प्रमुख अतिथि कार्की, विशिष्ट अतिथि कोशी प्रदेश सभा सदस्य गोपाल तामाङ, मेचीनगर नगरपालिका प्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना पोख्रेल उप्रेती, कोशी प्रदेशका पूर्व प्रदेश सभा सदस्य श्रीप्रसाद मैनालीले संयुक्तरुपमा प्रमाणपत्र ,अविर , माला तथा खदा प्रदान गरेका थिए ।

नवनिर्वाचित अध्यक्ष रोहितकुमार बुढाथोकीले धाराबाटै पिउन मिल्ने गरी शुद्ध खानेपानी उपलब्ध गराउने कुरामा आफूहरू प्रतिबद्ध रहेको बिश्वास दिलाएका थिए । निर्वाचन समितिका अध्यक्ष राजु कार्कीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सदस्य ज्ञानेन्द्रकुमार घिमिरे र शव्दमार्फत स्वागत सदस्य सुभद्रा अर्याल भट्टराईले गरेका थिए ।

२६ जेठमा सम्पन्न निर्वाचनबाट आगामी तीनवर्षे कार्यकालका लागि अध्यक्षमा रोहितकुमार बुढाथोकी, उपाध्यक्षमा गोविन्द गिरी, सचिवमा विशाल तामाङ, कोषध्यक्षमा विमला तामाङ ,महिला सदस्यहरुमा मीरा कार्की, इन्दिरा बुढाथोकी, खुला सदस्यहरुमा इन्द्रकुमार प्रधान, डिल्लीकुमार काफ्ले, केदारजंग भट्टराई निर्वाचित भएका थिए । लेखा समिति संयोजकमा सोमराज ढकाल र सदस्यहरुमा बालकुमार भुजेल र जोश्ना राजवंशी निर्वाचित भएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्