झापा, असार ४ । असार शुरु हुँदै झापामा बाढीले क्षति गर्न थालेको छ । लगातार वर्षाका कारण झापाको दक्षिणी क्षेत्र प्रभावित बनेको हो । बाढीका कारण कचनकबल गाउँपालिका वडा नं. ५ खुट्टागंजको एक परिवार बिस्थापित भएको छ भने तीन परिवार जोखिममा परेका छन् ।

खुट्टागंज बस्ने कुञ्जी राजवंशीको तीनजनाको परिवार पूर्ण रुपमा विस्थापित भई सोही वडाका वडा सदस्य प्रभा राजवंशीकोमा गएर बसेको प्रहरीले जनाएको छ । त्यस्तै श्रीमला देव राजवंशी , कार्तिक राजवंशी र संजय राजवंशीको परिवार जोखिममा परेका छन् ।
आज विहानको राति आएको अविरल वर्षाका कारण ती मानिसहरुको टाँटी बेराले बनेको टिनको छानो भएको एक तले घरमा अन्दाजि २ फिट पानी पसी डुबान भएको जनाइएको छ ।

त्यस्तै लगातार वर्षाका कारण माई खोलामा आएको बाढीले झापा गाउँपालिकामा मकैबाली नष्ट भएको छ । झापा–२ सुगाबथान र टप्पुगाउँका किसानले भाँचेर खेतमा राखेको मकै बाढीले बगाएको वडा नं २ का वडाध्यक्ष हिमालकुमार चम्लागाईले बताए ।

त्यस्तै चन्द्रगढी बिर्तामोड सडकअन्तर्गत बिर्तामोड नगरपालिका वडा नम्बर ८ स्थित हर्चनादेखि प्याकुरेल चोकसम्मको सडकखण्डमा अबिरल वर्षाका कारण बिजुलीको १० वटा पोल ढलेको छ । नारायण श्रेष्ठ र कृष्ण श्रेष्ठको पक्की घरमा एक–एकवटा पोल अड्केको र ८ वटा पोल कामेश्वर श्रेष्ठको चिया बगानमा ढलेको बताइएको छ । उक्त पोलमा जडान गरिएको बिर्तामोड नगरपालिकाबाट प्राप्त ५ वटा सीसी क्यामेरा समेत ढल्न गई खराब भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्