झापा,असार ५ । नेकपा एमाले सांसद महेश बर्तौलाले दूध किसानको बक्यौता रकम तत्काल उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएका छन्। बुधबार प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर सांसद बर्तौलाले किसानको भुक्तानीका लागि सरकारको ध्यानाकर्षण गराएका हुन्।

उनले आजदेखि आन्दोलन सुरू गरेका किसानलाई प्रहरीले नियन्त्रणमा लिएको भन्दै गृहमन्त्रालयको ध्यानाकर्षण समेत गराए।

’दूधको बक्यौताको माग गर्दै आजदेखि किसानहरू आन्दोलनमा उत्रिएका छन्। आन्दोलित ४५ बढि किसानलाई प्रहरीले हिरासतमा राखिएको छ। उहाँहरूमाथि चरम धरकपड भएको छ। उनीहरूले न्यायोचित माग उठाएका छन्। दूध बेचेको रकम भुक्तानीका लागि आन्दोलन गर्नुपर्ने परिस्थितिमा किसानहरू पुगेका हुन्, ’उनले भने,’ यसकारण सभामुखमार्फत सरकारको, कृषि मन्त्रालय र अर्थमन्त्रालयको ध्यानाकर्षण गराउन चाहन्छु। राज्यको तर्फबाट र राज्यले वातावरण बनाइ दिएर किसानहरूले पाउनेपर्ने दूधको बक्यौता अविलम्बन प्राप्त होस। भुक्तानी गरियोस्।’

एमाले प्रमुख सचेतक समेत रहेका बर्तौलाले डीडीसीबाट झन्डैं २ अर्ब र निजी डेरीबाट ३ अर्ब गरी झन्डैं ६ अर्ब रुपैयाँ भुक्तानी हुन बाँकी रहेको बताए। किसानहरूले दूधको रकम नपाउँदा गाईवस्तुलाई दानापानीको व्यवस्था मात्रै नभइ आफूहरू पनि भोकै बस्नुपर्ने अवस्थामा पुगेको बताए।

उनले आन्दोलनरत किसानका न्यायोचित माग पूरा गर्न सरकार गम्भीर हुनुपर्ने बताए। उनले भने,’किसानहरूले न्यायोचित माग गरेका छन्। सरकारले तत्काल वार्ताको माध्यमबाट भुक्तानी गर्ने वातावरण सुनिश्चितता गरोस्। यसका लागि फेरि पनि आग्रह गर्न चाहन्छु।’

दूधको भुक्तानी नपाएको भन्दै किसानहरूले आजदेखि फेरि आन्दोलन सुरू गरेका छन्।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्