झापा, असार ६ । देशभर डेंगु संक्रमितको संख्या १२ सय नाघेको छ ।त्यसमध्ये झापामा मात्र एक सय १२ जना संक्रमित रहेका छन् ।

काठमाडौपछि झापामा डेंगु संक्रमितको संख्या देखिएको हो । ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार डेंगु संक्रमितको संख्या पछिल्लो छ महिनाभित्रमा एक हजार २ सय ४१ पुगेको छ भने संक्रमण ७२ जिल्लामा फैलिएको छ । यो तथ्यांक २०२४ जनवरी १ देखि हिजो बुधबारसम्मको हो ।

महाशाखा अनुसार हिमाली जिल्लाहरू मुस्ताङ, डोल्पा, मुगु, हुम्ला र जुम्ला बाहेकका ७२ जिल्लामा डेंगुको संक्रमण पुष्टि भएको छ ।

सबैभन्दा बढी डेंगु फैलिएका १० जिल्लामा काठमाडौंमा एक सय ४१ जना, झापामा एक सय १२ जना, चितवनमा ७५, मकवानपुरमा ५९, डोटीमा ४७, तनँहुमा ४६, सिन्धुपाल्चोकमा ४४, ओखलढुंगामा ४१, रुपन्देहीमा २८ र भक्तपुरमा २७ जना संक्रमित भेटिएका छन् । प्रादेशिक तथ्यांक हेर्दा सबैभन्दा बढी बागमतीमा ४ सय २८ जना, कोशीमा २ सय ८५, गण्डकीमा १ सय ८८, लुम्बिनीमा १ सय ४८, सुदूरपश्चिममा १ सय ४०, मधेश प्रदेशमा ३४ र कर्णालीमा १८ जनामा संक्रमण देखिएको छ ।
यस वर्ष डेंगुका कारण विरामीको ज्यान भने गएको छैन । ईडीसीडीका अनुसार सन् २०१९ मा महामारीको रुपमा फैलिएको डेंगुले १७ हजार ९ सय ९२ जना संक्रमित भएकामा ३ जनाको मृत्यु भएको थियो । त्यसैगरी, डेंगुकै कारण २०२२ मा ८८ जना र २०२३ मा २० जनाको ज्यान गएको थियो ।

डेंगु संक्रमण देखिएका विरामीमा उच्च ज्वरोसँगै बेस्सरी टाउको दुख्ने, आँखाको गेडी, हाडजोर्नी, मांसपेशी तथा ढाड दुख्ने, रिंगटा लाग्ने, वाकवाकी÷वान्ता हुने लक्षण देखिन्छ । त्यस्तै स्वासप्रस्वासमा समस्या आउने, नाक वा गिजाबाट रगत बग्ने, रक्तश्राव हुने, बेहोस हुने जस्ता लक्षण पनि देखा पर्न सक्ने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । मनसुन सक्रिय भएसँगै डेंगी संक्रमणको जोखिम बढ्ने हुँदा नियन्त्रणका लागि सरोकारवाला निकायले सक्रियता देखाउनुपर्ने चिकित्सकहरु बताउँछन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्