झापा,असार ६ । विराटनगरमा पाहुना आएका एक जना युवकको हत्या भएको छ । सुनसरीको दुहवी नगरपालिका–१२ का २३ वर्षीय अक्लेशकुमार यादवको हत्या भएको हो ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार अक्लेश विराटनगर महानगरपालिका–४ इक्राहीस्थित रामलोचन यादवको घरमा पाहुना आएका थिए । उनका अनुसार रामलोचन अक्लेशका ठुलोबुवा हुन् । ठुलीआमाकी छोरी (बहिनी)को बिहेमा आएका बेला अक्लेशको हत्या भएको डीएसपी बस्नेतले बताए ।

विराटनगर–४ का २४ वर्षीय गणेश यादवले चक्कु प्रहार गरेर अक्लेशको हत्या गरेको जानकारी उनले दिए । अक्लेशका ठुलोबुवा रामलोचन र गणेश छिमेकी हुन् । बस्नेतका अनुसार बिहेको कार्यक्रम सकिएपछि गणेश र अक्लेशबीच सामान्य विवाद भएको खुलेको छ । उनीहरुबीच के विषयमा विवाद भएको थियो भनेर यकिन भइसकेको छैन ।

विवादपछि अक्लेश मोटरसाइकल चढेर आफ्नो घरतर्फ जान खोज्दै थिए । घर जाने तयारीमा रहेका अक्लेशलाई बुधबार राति १० बजेतिर गणेशले चक्कु प्रहार गरेको डीएसपी बस्नेतले बताए । चक्कु प्रहारबाट अक्लेशको बायाँ कोखामा गहिरो चोट लागेको थियो । गम्भीर अवस्थाका उनलाई उद्धार गरेर उपचारका लागि विराटनगरकै नोबेल शिक्षण अस्पताल लगियो ।

उपचारकै क्रममा बिहीबार बिहान ६ बजेतिर अक्लेशको मृत्यु भएको प्रहरीले जनाएको छ । हत्यामा संलग्न गणेश फरार रहेको र खोजी तीव्र पारिएको जानकारी डीएसपी बस्नेतले दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्