झापा, असार ६ । भोजपुरमा सचेतनामूलक कार्यक्रम गरेर ट्राफिक सप्ताह २०८१ सुरु भएको छ । बिहीबार सदरमुकाम बजारस्थित सहिदपार्क क्षेत्रबाट र्‍याली सुरु गरी टुँडिखेल–चारभञ्ज्याङ–सप्तधारा हुँदै नगरपालिकाको सभाहलमा औपचारिक कार्यक्रम आयोजना गरी सप्ताहव्यापी अभियान सुरु भएको हो ।

अभियानले सवारी दुर्घटना न्यूनीकरण, सडक सुरक्षा र ट्राफिक नियम पालनासम्बन्धी सचेतना अभिवृद्धि गर्ने लक्ष्य लिएको छ । जिल्लामा सवारी दुर्घटना न्यूनीकरण र ट्राफिक नियमको बारेमा व्यापक जनचेतना जगाउने गरि सप्ताह मनाउन सुरु गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख सुदीपराज पाठकले बताए । उनका अनुसार कोशी प्रदेशका १४ वटै जिल्लामा एकै साथ ट्राफिक सप्ताह सुरु गरिएको छ ।

सप्ताहलाई यात्रु, चालक र प्रहरीबिचको सम्बन्धलाई नजिक बनाउने, समुदाय–विद्यालय साझेदार कार्यक्रम सञ्चालन, सडक यात्रालाई सुरक्षित बनाउने र दुर्घटना न्यूनीकरणमा केन्द्रित गरिएको छ ।

ट्राफिक सप्ताह अन्तर्गत लामो दूरीका सवारीसाधनमा दुई जना चालक राख्ने नियमको कार्यान्वयनको अनुगमन गर्ने, सवारी साधनमा सचेतनामूलक स्टिकर टाँस गर्ने, सर्वसाधारण र सरोकारवालालाई ट्राफिक सचेतना फैलाउने, पर्चा वितरण गर्ने, माइकिङ गर्ने, सवारी साधनको भाडा अनुगमन गर्ने, यात्रु आरक्षण सिटको कार्यान्वयनबारे अनुगमन गर्ने, सडक प्रयोगसम्बन्धी चालक यात्रु र सर्वसाधारणलाई प्रशिक्षण गर्ने कार्यक्रम तय गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

कार्यक्रमका प्रमुख अतिथि तथा भोजपुर नगरपालिकाका प्रमुख कैलाशकुमार आलेले सवारी दुर्घटना न्यूनीकरणका लागि चालक, यात्रुको सकारात्मक सोच, ट्राफिक सचेतना, सवारी साधनको मापदण्ड परीक्षणलगायतका बारेमा सबैमा सचेतनाको विकास हुन आवश्यक रहेको बताए ।

प्रभातफेरीपछि सभाहलमा भएको औपचारिक कार्यक्रममा भोजपुर नगरपालिकाका प्रमुख कैलाशकुमार आलेको प्रमुख आतिथ्य, प्रमुख जिल्ला अधिकारी नर ब. थापा, वडाध्यक्ष जय ब. तामाङ, सरोकारवाला कार्यालय, सङ्घ संस्था, सगरमाथा अङ्ग्रेजी बोर्डिङ, युपीए, विद्योदय माध्यमिक विद्यालय, सिटिइभिटि लगायत विद्यालयका शिक्षक, विद्यार्थी, सवारी चालक, स्थानीय लगायतको सहभागिता थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्