झापा, असार ७ । सीमावर्ती झापा गाउँपालिकामा लागूऔषध ब्राउनसुगरसहित तीनजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा दुई भारतीय र एक नेपाली नागरिक रहेका छन् । लागूऔषध भित्र्याउँदै गर्दा दुई भारतीय नागरिक पक्राउ परेका हुन् । हिजो साँझ ७ः२० बजेको समयमा झापा गाउँपालिका वडा नं.१ सालमारा झोलुङ्गे पुल बगानमा चेकजाँचको क्रममा साइकलयात्री भारत किसनगंज कुतवाभिट्टा नयाँ टोल बस्ने बर्ष ४० का जुलमात हुसेन र पछाडी सवार सोही ठाउँ बस्ने बर्ष २० का तोसिफ आमललाई चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट प्लाष्टिकसहित २० ग्राम ५५० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो । दुवैलाई नियन्त्रणमा लिई सो सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

त्यस्तै हिजो दिउँसो २ बजेको समयमा झापा गाउँपालिका वडा नम्बर ५ बिओपी चेक प्वाईन्टमा बिर्तामोड नगरपालिका वडा नम्बर ३ बस्ने २२ वर्षीय मनोज चौधरी ब्राउनसुगरसहित पक्राउ परेका छन् । भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा चेकजाँच गर्ने क्रममा उनले लगाएको दाहिने खुट्टाको चप्पलमा लुकाई छिपाई ल्याउँदै गरेको प्लाष्टिकसहित १ ग्राम ६० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो । चौधरीलाई बिओपी शरणामती चेक प्वाईन्टमा खटिएको सशस्त्र प्रहरी बलले प्रहरी चौकी शरणामतीमा बुझाएको छ । पूर्वी नाका काँकडभिट्टामा प्रहरीले कडाई गरेपछि लागूऔषध प्रयोगकर्ता र कारोबारीहरुले दक्षिणी झापा गाउँपालिकाको सीमानाका प्रयोग गर्न थालेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्