झापा, असार ७ । नेपालमा अवैध ओसारपसार भई थन्किएर रहेको रक्तचन्दन भारतले फिर्ता लैजाने भएको छ ।

नेपाल सरकारको गत वैशाख २७ गते बसेको मन्त्रीपरिषद् बैठकले रक्तचन्दन फिर्ता गर्ने निर्णय गरेपछि भारतले रक्तचन्दन लिन तयार भएको हो । भारत सरकारले त्यससम्बन्धी निर्णयसहितको पत्राचार गरिसकेको छ । नेपाल सरकारले भारतलाई रक्तचन्दन फिर्ता गर्ने निर्णय गरेको ९० दिनभित्र भारतले लगिसक्नुपर्ने कानुनी व्यवस्था छ ।

वन तथा भूसंरक्षण विभागका महानिर्देशक शिवकुमार वाग्लेले भारतले रक्तचन्दन फिर्ता लिन पठाएको पत्र प्राप्त भएको जानकारी दिए । “भारतले रक्तचन्दन लिन इमेलमार्फत पत्र पठाएको छ । यही जुन २० देखि ३० तारिख अर्थात् असार ६ गतेदेखि असार १६ गतेसम्म रक्तचन्दन लिन्छौँ भनेर पत्रमा भनिएको छ ।” भारतले आफ्नै खर्च आफ्नो सहजतामा फिर्ता लैजाने छ ।”

मन्त्रीपरिषद् बैठकले भारतलाई रक्तचन्दन फिर्ता गर्ने निर्णय गरेपछि परराष्ट्रमार्फत भारतीय दूतावासलाई पत्र पठाएको थियो । भारतले गत साता मात्रै रक्तचन्दन फिर्ता लिन इच्छुक भएको भन्दै पत्र पठाएएको हो ।

अहिले १८ जिल्लामा एक लाख ७३ हजार ७१.७९२ केजी रक्तचन्दन काठ बरामद गरेर राखिएको छ । रक्तचन्दन थन्किएर राखिएका जिल्ला झापा, ताप्लेजुङ, काठमाडौँ, सिन्धुपाल्चोक, ललितपुर, भक्तपुर, काभ्रे, रसुवा, दोलखा, धादिङ, गोरखा,सङ्खुवासभा, सप्तरी, सर्लाही, चितवन, नवलपरासी, कपिलवस्तु र बझाङ छन् । बरामद रक्तचन्दन नेपाल प्रहरी र सशस्त्र प्रहरीले सुरक्षा दिएर राखिएको छ ।

वन तथा वातावरण मन्त्राएका प्रवक्ता बद्रीराज ढुङ्गानाका अनुसार भारतले ललितपुरको फ्ल्यास फ्राइट लजिस्टिक कम्पनीमार्फत रक्तचन्दन फिर्ता लिन लागेको छ । “हामीले यो ठाउँमा यति परिमाणमा रक्तचन्दन छ भनेर जानकारी दिने छौँ । उनीहरूले आर्थिकलगायतको व्यवस्थापन गर्छन् । त्यसैबमोजिम नेपालले सहजीकरण गर्ने छ,” उनले भने ।

२०६४ सालदेखि बरामद गरेर राखिएको रक्त चन्दन भारतलाई फिर्ता गर्ने प्रक्रियाले सार्थकता पाउन लागेको हो । नेपाल सरकारले चौथो पटक रक्तचन्दन फिर्ता गर्ने निर्णय गरेपछि बल्ल भारतले रक्तचन्दन फिर्ता लिन तयार भएको हो ।

२०६५ सालमा बसेको मन्त्रीपरिषद् बैठकले ५४ हजार ११२ केजी रक्तचन्दन भारतलाई फिर्ता गर्ने निर्णय गरेको थियो । तर ३६ हजार ९२८ किलो रक्तचन्दन मात्र फिर्ता गरिएको थियो । त्यसै गरी २०७१ फागुन १२ मा बसेको मन्त्रीपरिषद् बैठकले २७ हजार १६६ केजी रक्तचन्दन भारतलाई फिर्ता दिने निर्णय गरेको थियो ।

२०७६ साल पुस र २०८० साउनमा सरकारले भारतलाई फिर्ता दिने निर्णय भए पनि रक्तचन्दन फिर्ता हुन सकेको थिएन । भारतमा पाइने रक्तचन्दन नेपाललाई ट्रान्जिट प्वाइन्ट बनाउँदै चीनलगायत तेस्रो मुलुक निर्यात हुँदा बरामद भएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्