मेचीनगर, असार ७ । उच्च अदालत बिराटनगरले अल्पकालीन अन्तरिम आदेश जारी गरेको चार महिना बितिसक्दासमेत कार्यान्वयन नभएको अबस्थामा काँकरभिट्टास्थित होटल हिकोला हेरिटेजको विवाद मिलाउन छलफल शुरु भएको छ ।

विवादास्पद होटल र विवाद मिलाउन जारी छलफल

होटल व्यवसायी संघ झापाको पहलमा घरधनी र होटल संचालकबीच अदालतको आदेश कार्यान्वयनका लागि बिहीवार पहिलो चरणको छलफल भएको हो । होटल व्यवसायी संघ मेचीनगरको सभाकक्षमा घरधनी विष्णुमाया श्रेष्ठ दाहाल र होटल संचालक देवीभक्त श्रेष्ठबीच विगतदेखिको विवादलाई नलम्ब्याई अदालतको आदेशलाई कार्यान्वयन गर्दै निकास खोज्ने विषयमा छलफल भएको होटल व्यवसायी संघ झापाका महासचिव शिवराज पौडेलले बताए । यद्यपि छलफल निष्कर्षमा पुग्न नसकेको उनले बताए । घरभाडाका विषयमा कुरा नमिलेपछि दुवैतर्फका कानुन व्यवसायी र लेखा अधिकृत राखेर हरहिसाव गर्ने गरी पर्सी आइतवार अर्को बैठक राखिएको छ ।

उच्च अदालत बिराटनगरले गत फागुन ६ गते घरधनी विष्णुमाया श्रेष्ठ दाहालको नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । अदालतले होटल संचालक श्रेष्ठलाई होटल सञ्चालन गर्न दिने निर्णय गरेको थियो । तर, घरधनी दाहालले होटल हिकोला हेरिटेजको सञ्चालन सम्बन्धी विवादमा अदालतले दिएको आदेशको अवज्ञा गर्दै आएकी छन् । मेचीनगर नगरपालिकाको न्यायिक समिति र मेची उद्योग वाणिज्य संघको पहलबाट समाधान आउन नसकेपछि होटल सञ्चालक श्रेष्ठ न्याय माग्दै उच्च अदालत गएका थिए ।

अदालतले दिएको आदेश

अदालतको आदेश चार महिनासम्म कार्यान्वयन नभएपछि होटल संचालक श्रेष्ठ बिहीवार प्रहरी प्रशासनलाई खबर गरेर विवाद भएको काँकडभिट्टास्थित होटल हिकोला हेरिटेज पुगेका थिए । उनीसंगै होटल व्यवसायी संघ झापाका अध्यक्ष इन्दिरा श्रेष्ठ , महासचिव शिवराज पौडेल , शनिश्चरे उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष ध्रुव प्रधान , समाजसेवी लीला मैनाली , पत्रकारलगायतको टोली गएको थियो । सोही टोलीसंग मेचीनगर होटल व्यवसायी संघका अध्यक्ष सुरेशकुमार श्रेष्ठको रोहवरमा छलफल भएको थियो । छलफलमा मेचीनगर होटल व्यवसायी संघका वरिष्ठ उपाध्यक्ष मानबहादुर गिरी, अर्का घरधनी पशुपति दाहाल , होटल संचालक गौरव श्रेष्ठ पनि उपस्थित रहेका थिए ।

अदालतले आदेश दिइसक्दा पनि त्यसलाई कार्यान्वयन गराउन प्रहरी प्रशासनले सहयोग नगरेको होटल संचालक देवीभक्त श्रेष्ठको गुनासो छ । आफूले इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डीएसपी मिमकुमार लामासंग पटक पटक सहयोगको लागि आग्रह गर्दासमेत उनले सहयोग नगरेको श्रेष्ठले गुनासो गरे । अदालतको आदेश कार्यान्वयन गराउने सवालमा देवानी मुद्धा भन्दै प्रहरी प्रशासन पन्छिदै आएको छ । अदालतको आदेश कार्यान्वयन गराउने सन्दर्भमा गृहमन्त्री रवि लामिछानेले निर्देशन दिएपछि मात्र प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले पनि चासो राख्दै दुवै पक्षलाई अदालती आदेश पालना गर्न भनेको श्रेष्ठको भनाई छ ।

घरधनी र होटल सञ्चालकबीच घरभाडा सम्झौता कार्यान्वयनका विषयमा विवाद देखिएको हो । विवाद साम्य पार्न नगरपालिकाले मेची उद्योग वाणिज्य संघका अध्यक्ष खेम प्रसाई, डिल्लीराम घिमिरे, सुरेन्द्र बुढाथोकी, माधव अर्याल, न्यायिक समितिका सदस्य कुन्दन निरौलासहितको एउटा मध्यस्थता समिति गठन गरेको थियो ।तर , त्यस समितिले निष्पक्ष रुपमा काम गर्न नसकेको आरोप छ । आइतवारको बैठकमा पनि अदालतको आदेश अनुसार निष्कर्ष ननिस्किएको खण्डमा काँकडभिट्टाको होटल हिकोला हेरिटेजमा आमसभा गरेर घरधनी दाहाललाई पनि सो होटल संचालन गर्न नदिने आफूहरुको कार्यक्रम रहेको श्रेष्ठले बताएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्