झापा, असार ८ । बिर्तामोड– २ रामचौकमा रहेको मोहनमाया माध्यमिक विद्यालय देशकै उत्कृष्ट विद्यालयमा पर्न सफल भएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सार्वजनिक गरेको देशकै उत्कृष्ट सामुदायिक विद्यालयहरुको सूचीमा झापाको एकमात्र मोहनमाया मावि पर्न सफल भएको हो । राष्ट्रिय परीक्षा बोर्डबाट प्राप्त तथ्यांक अनुसार शिक्षा मन्त्रालयले २०७९ को एसईई परीक्षामा कम्तीमा सयजना विद्यार्थी सहभागी भई समग्र जीपीए ३.२ र सोभन्दा बढी हासिल गर्ने विद्यार्थीको प्रतिशत ३० वा सोभन्दा बढी भएका सामुदायिक विद्यालयहरुको विवरण सार्वजनिक गरेको थियो । सो विवरण अनुसार मोहनमाया देशकै उत्कृष्ट १५ मा पर्न सफल भएको हो । मोहनमायाले २०७९ को एसईई परीक्षामा ११६ जना विद्यार्थी सहभागी भएकोमा ३.२ जीपीएभन्दा बढी ल्याउने ५० जना रहेका छन् । जुन ४३.१० प्रतिशत हो ।

यसअघि मोहनमाया मावि झापा जिल्लाकै उत्कृष्ट भएको थियो । एसईई परीक्षामा सबैभन्दा माथिल्लो ग्रेड ३.६० देखि ४ जीपीएमा सबैभन्दा धेरै विद्यार्थी मोहनमायाका विद्यार्थीहरु उत्तीर्ण भएका थिए । मोहनमाया माविका तर्फबाट ३.६० देखि ४ जीपीएमा सबैभन्दा धेरै २६ जनाले उत्तीर्ण गरेका छन् । त्यस्तै ३.२० देखि ३.६० जीपीएमा २४ जना , २.८० देखि ३.२० जीपीएमा ३६ जना ,२.४० देखि २.८० जीपीएमा १४ जना , २.०० देखि २.४० जीपीएमा ११ जना र १.६० देखि २.०० जीपीएमा ४ जना विद्यार्थीले उत्तीर्ण गरेको विद्यालयका प्रधानाध्यापक शेरबहादुर श्रेष्ठले बताए । परीक्षा दिने सबै विद्यार्थी उत्तीर्ण भएका छन् । जिल्लामै मोहनमायाको पठनपाठन उत्कृष्ट रहेको छ ।देशकै उत्कृष्ट विद्यालयहरुको सूची अर्थ मन्त्रालयबाट प्रकाशन भएको आर्थिक सर्वेक्षण २०८०–०८१ मा समावेश गरिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्