भद्रपुर,असार ८ । भद्रपुर ६ स्थित आदिवासी राजवंशी भाषिक सांस्कृतिक विकास प्रतिष्ठानको भौतिक पूर्वाधार निर्माणमा बाधा नदिन प्रतिष्ठानका पदाधिकारीहरुले चेतावनी दिएका छन् ।


२०८० चैतमा निर्वाचित प्रतिष्ठानको पहिलो कार्यसमितिले जग्गा प्राप्ति, तथा संग्रहालय भवन निर्माणको काम अगाडि बढाइरहँदा अध्यक्षका प्रत्यासी रहेका पुकार राजवंशीलगायतले काममा अवरोध दिन खोजेको भन्दै प्रतिष्ठानका पदाधिकारीहरुले त्यस्तो चेतावनी दिएका हुन् ।

भद्रपुर ६ स्थित ओमप्रकाश गोयल कोलनीनजिकै रहेको प्रतिष्ठानको भवन निर्माणका लागि ढकेन्द्र राजवंशी, मालचन राजवंशी, कमल राजवंशी, धनमती तामाङ राजवंशी, अर्जुन विष्ट, गणेश अधिकारी र श्यामसुन्दर अग्रवालले एक–एक कठ्ठा गरी ७ कठ्ठा जग्गा प्रतिष्ठानलाई निःशुल्क दिएका थिए ।संग्रहालयका लागि भद्रपुर नगरपालिकाले २० लाख वजेट छुट्याएपछि जग्गा घेरावारा र सडक निर्माण गरिएको प्रतिष्ठानका सचिव विवेक राजवंशीले जानकारी दिए । सचिव राजवंशीले नयाँ समितिले पदभार ग्रहण गरेपश्चात् संस्थालाई व्यवस्थित बनाएको जानकारी दिँदै निर्वाचनमा पराजित भएको रिस पुकार राजवंशीले समितिको काममा पोखेर राजनीति गरेका कारण प्रदेश सरकारबाट आएको २५ लाख रूपैयाँ गुमाउनु पर्ने अवस्था आएको जनाएका छन् ।

समितिका उपाध्यक्ष नन्दकुमार राजवंशीले नितान्त सामाजिक संस्थाको रूपमा रहेको प्रतिष्ठानलाई फुटाउन केही व्यक्तिहरू राजनीतिक रंग दिएर समिति असफल भएको हल्ला फिजाएर कब्जा गर्ने रणनीतिमा रहेकाले सवैलाई यथार्थ बुझ्न आग्रह गरेका छन् । कोशी प्रदेश वन वातावरण तथा पर्यटन मन्त्रालयले भाषिक, सांस्कृतिक उत्थानका लागि जातीय संग्रहालय निर्माणका लागि दिएको २५ लाख फिर्ता गराउन संस्थापन समितिमा रहेका तथा प्रथम अधिवेशनमा अध्यक्षमा पराजित व्यक्तिहरु लाग्नु दुःखद भएको उनले बताए ।

अध्यक्ष समनसिंह राजवंशीले भद्रपुरमा रहेका राजवंशीसम्बद्ध सवै संस्थाको सहमतिमा साझा संस्थाको रूपमा आदिवासी राजवंशी भाषिक सांस्कृतिक विकास प्रतिष्ठानको गठन भएको जानकारी दिँदै एकतामाथि प्रहार गर्ने जोसुकै बहिष्करणमा पर्ने चेतावनी दिए । भर्खर पाइला चाल्न लागेको संस्थाको विकासमा बाधा सिर्जना गरेर समिति असफल भएको हल्ला मच्चाउनेहरू जातीय उत्थानको बाधक रहेको उनले आरोप लगाए ।

अध्यक्षका अनुसार प्रतिष्ठानको ४ करोड ५० लाखको लागतमा राजवंशी जातीय पहिचान झल्कने संग्रहालय निर्माणका लागि प्रदेश सरकार, संघीय सरकारसंग साझेदारी कार्यक्रम प्रस्ताव गरिसकिएकोले भद्रपुरलाई पर्यटकीय गन्तव्य क्षेत्र बनाउन उल्लेख्य योगदान पुग्ने समेत विश्वास रहेको छ ।
भद्रपुर ६ का वडाध्यक्ष रतिया राजवंशीले निर्वाचनमा पराजित भएको रिस पोख्नेहरूले रोक्दैमा प्रतिष्ठानको उद्देश्य नछेकिने बताए । उनले सवै समुदाय र वर्गले छुद्रहरू चिन्ने क्रम रहेकाले यस पटक २५ लाख गुमेपनि आगामी दिनमा करोडौं जोडेर संग्रहालय बनाएरै छाड्ने प्रतिबद्धता जनाएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्