दमक,असार ८ । झापाको कनकाई नगरपालिकाले बिभिन्न संस्थाहरुको मिलेमतोमा रकम निकासा गर्ने गरेको आरोप लागेको छ । नगरपालिकामा सक्रिय नगर बाल सञ्जालले नगरलाई यस्तो आरोप लगाएको हो ।


कन्काई नगर बाल सञ्जालले असार ७ गते शुक्रबार नगरमा रहेका राजनैतिक दल र सामाजिक संघ संस्थाका प्रतिनिधिहरुसंगको सर्वपक्षीय छलफलमा बालबालिकाको क्षेत्रमा काम गर्ने क्रममा नगरपालिकासँग भएको सम्झौता पारदर्शी नभएको बताएको हो । बालबालिकाको क्षेत्रमा काम गर्ने संस्था बाल सञ्जाल हुँदाहुँदै नगरपालिकाले यही प्रकृतिको अन्य संस्थासँग सम्झौता गरेर रकम निकासा गरेको नगर बाल सञ्जालले आरोप लगाएको हो ।

नगरमा बालबालिकाको क्षेत्रमा क्रियाशील आधिकारिक बाल सञ्जाल हुँदाहुँदै कन्काई नगरपालिकाले रुपान्तरण नेपाल र संकल्प नामका संस्थामार्फत सम्झौता गरेर कार्यक्रम गर्न दिएको नगर बाल सञ्जाल अध्यक्ष अश्लेषा कँडेलले बताइन् । रुपान्तरण नेपाल जिल्ला बाल सञ्जालका अध्यक्ष अभिषेक मिश्र आफै अध्यक्ष भएको संस्था हो । जुन संस्थाले नगरपालिकामा १ लाख ४७ हजार रुपैंयाँको बजेट सम्झौता गरी अहिले वडा स्तरीय बाल भेला आयोजना गरिरहेको छ ।

बाल सञ्जालमा आफूहरु निर्वाचित भएर आएको ६ महिना भइसक्दा पनि हालसम्म पुरानो समितिले अघिल्लो कार्यकालमा गरेको आर्थिक प्रतिवेदन उपलब्ध नगराएको भन्दै कँडेलले अझै नगरपालिकाले अमुर्त सम्झौता गरेर उनीहरुले नेतृत्व गरेको कार्यसमितिलाई लाखौं रकम प्रदान गरिरहेको बताइन् । अपारदर्शी ढंगले रकम निकासा गर्ने नगरपालिका पनि अनियमितताको जिम्मेवार हुनुपर्ने उनको भनाई छ ।

झापा जिल्ला बाल सञ्जालको आयोजनामा गत जेठ ८ गते कनकाई नगरपालिकामा ‘बासँग बालबालिका’ कार्यक्रम भएको थियो । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले त्यस कार्यक्रममा जिल्लाका झण्डै ६ सय बालबालिकासँग साक्षात्कार गरेका थिए । सो कार्यक्रममा नगरसँग भएको सम्झौता र गरेको खर्चमा पारदर्शिता नभएको आरोप नगर बाल सञ्जालले लगाएको छ ।

जिल्ला बाल सञ्जालका अध्यक्ष अभिषेक मिश्रले बाल सञ्जालले नगरपालिकाले अघि सारेको कार्यक्रममा नेतृत्व मात्र लिने बताए । उनले आम्दानी र खर्चको हिसाब सञ्जालले राख्नु नपर्ने भन्दै पछिल्लो कार्यसमितिले खोजविन गरेपछि नगरसँग वित्तीय विवरण माग गरेको बताए ।

केपी ओली सहभागी बासँग बालबालिका कार्यक्रमको बिल भौचर पेश गरेपनि स्थानीय तहबाट रकम निकासा नभएको हुनाले अहिले नै त्यसको हिसाव किताब बुझाउन नसक्ने उनको भनाई छ । सो कार्यक्रममा कनकाई नगरपालिकासँग ४ लाख रुपैयाँ, शिवसताक्षी नगरपालिकासँग ४० हजार रुपैयाँ, बिर्तामोड नगरपालिकासँग २० हजार रुपैयाँ र अरु स्थानीय तहसँग पनि रकम माग गरिएको उनले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्