बिर्तामोड, असार ९ । लामो समयपछि झापाको शनिश्चरे–बिर्तामोड सडकमा कालोपत्रे सुरु भएको छ । सडक निर्माण नहुँदा लामो समयदेखि त्यस क्षेत्रबाट यात्रा गर्ने यात्रुले सास्ती पाउँदै आएका छन् ।

आइतबारदेखि सबैभन्दा जीर्ण रहेको खण्ड दासपुलदेखि कप्तानबारीसम्म कालोपत्रे सुरु भएको हो । ठेकेदार संस्थाले मंगलवारसम्ममा डेढ किलोमिटरको त्यस खण्ड पुरा गर्ने आश्वासन दिएको नगरप्रमुख बलदेवसिंह गोम्देनले जानकारी दिए । नगरपालिकाको क्षेत्राधिकारभित्र नपर्ने भएपनि स्थानीयको गुनासो सम्बोधन भएकोमा उनले आफूलाई ठुलो सन्तुष्टि मिलेको बताए ।

सडक निर्माण गर्नका लागि प्रविण मैनाचुली शान्ति जेभीले ठेक्का पाएको थियो । समयमा रकम निकासा नहुँदा निर्माण कार्य समयमै गर्न नसकिएको ठेकेदार संस्थाले जनाएको छ । तर, सभामुख देवराज घिमिरेको पहलमा आंशिक रकम निकासा भएपछि पहिलो चरणमा १.५ किलोमिटर कालोपत्रे गर्ने कार्य सम्पन्न गर्न लागिएको उनले बताए । गत जेठ ९ गते निर्माण सम्पन्न गरेर हस्तान्तरण हुनुपर्ने गरी २०७९ जेठमा ठेक्का लागेको सो सडकको निर्माण कम्पनीले मागेको रकम राज्यले समयमा भुक्तानी नगरेको बताइएको छ ।

१५ करोड ६० लाख रुपैंयाँमा ठेक्का लागेको सो सडक बिर्तामोडको टाटा सोरुमदेखि कप्तानबारी हुँदै लक्ष्मीपुरबाट कालिस्तानसम्म ६.२ किलोमिटरको हुने छ । बिर्तामोडदेखि दासपुलसम्म दुई लेन, दासपुलदेखि कप्तानबारीसम्म ७ मिटरको सडक निर्माण हुने सम्झौतामा उल्लेख छ ।

यसअघि सडकमा सवारीसाधन चलाउन नसक्ने गरी खाल्डा खुल्डी भएका कारण सवारीसाधनहरु दुर्घटनामा परेका थिए । स्थानीयले सडक निर्माण गर्न दवाब दिने उद्धेश्यले पटक–पटक सडक अवरुद्ध गर्दै आएका थिए । सडक अवरुद्ध भएपछि सवारीसाधनले लामो समयदेखि बैकल्पिक सडक प्रयोग गरिरहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्