झापा,असार १० । विद्यार्थीहरुलाई निर्घात कुटपिट गर्ने झापाको बुद्धशान्ति १ मा रहेको बुद्ध आदर्श माध्यमिक विद्यालयका शिक्षक विवेश भण्डारीले माफी माग्दै घाइतेहरुको उपचार गरिदिने भएका छन् ।

आज बिहान इलाका प्रहरी कार्यालय बुधबारेमा भएको सर्वपक्षीय छलफलमा उनले माफी माग्दै घाइते विद्यार्थीहरुको उपचार गरिदिने सहमति जनाएको प्रहरी नायव निरीक्षक भीम मगरले बताए । कुटाइ खाने विद्यार्थीहरु बुधबारे सिटी हस्पिटलमा उपचाररत् छन्।

उनलाई बुद्ध आदर्श माध्यमिक विद्यालयले कार्वाही गर्ने भएको छ । कार्वाही गर्ने विषयमा छलफल गर्न आज दिउँसो विद्यालयको बैठक बोलाइएको छ । प्रधानाध्यापक कृष्णप्रसाद भण्डारीले शिक्षक भण्डारीलाई निष्कासन गर्ने विषयमा छलफल गर्ने बताएका छन् । डिसिप्लिन इन्चार्ज रहेका शिक्षक भण्डारीले कक्षा ७ मा अध्ययनरत १४ जना विद्यार्थीलाई निर्घात पिटेका थिए । विद्यालयमा खेलकुद तथा अनुशासन कायम राख्न भनेर निजी स्रोतमा विद्यालय व्यवस्थापन समितिले भण्डारीलाई डिसिप्लिन इन्चार्ज (डिआइ) राखेको थियो । भण्डारीले रबरको पाइप छियाछिया हुने गरी विद्यार्थीको शरीरमा प्रहार गरेको बताइएको छ ।

कक्षामा हल्ला गरेको कारण देखाउँदै आवेशमा आएर भण्डारीले विद्यार्थीमाथि प्रहार गरेको अभिभावकहरूले बताएका छन्। करिव १४ जना विद्यार्थीहरुले पिटाई खाएको बताइएपनि दुईजनाका तर्फबाट मात्र उजुरी परेको प्रहरी नायव निरीक्षक मगरले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्