कुमरखोद , असार १० । झापा गाउँपालिकाको आर्थिक वर्ष २०८१–०८२ को नीति तथा कार्यक्रमसहित वार्षिक बजेट गाउँसभाले सर्वसम्मत स्वीकृत गरेको छ ।

झापा गाउँपालिकाले आर्थिक वर्ष २०८१–८२ का लागि ४९ करोड ४३ लाख ५ हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरेको छ । गत वर्षको तुलना यो आर्थिक वर्षमा ४७ लाख १२ हजार दुईसय रुपैयाँको कम बजेट आएको हो ।

झापा गाउँपालिकाको सभाहलमा भएको १६औं गाउँसभामा कार्यवाहक अध्यक्ष अन्जुदेवी थपलियाले आर्थिक वर्ष २०८१–८२ को बजेट प्रस्तुत गरेकी थिईन् । प्रस्तुत बजेटमा गाउँपालिकाको आयतर्फ संघीय राजश्व बाँडफाँटतर्फ १० करोड ३९ लाख , संघीय सशर्त अनुदान २१ करोड ७३ लाख , संघीय समानीकरण अनुदान ११ करोड ७४ लाख , संघीय समपुरक अनुदान ७६ लाख , प्रदेश समानीकरण अनुदान ७३ लाख ४१ हजार , प्रदेश राजश्व बाँडफाँटमा ४४ लाख ७९ हजार , घरजग्गा रजिष्ट्रेशन दस्तुरमा ५० लाख , प्रदेश सशर्त अनुदान ६२ लाख ८५ हजार , प्रदेश समपूरक अनुदान १ करोड र आन्तरिक आय १ करोड ५० लाख रुपैयाँ गरी ४९ करोड ४३ लाख ५ हजार रुपैयाँ अनुमानित आय हुने बजेटमा उल्लेख गरिएको छ ।

गाउँपालिकाले व्ययतर्फ चालु खर्च शिर्षकमा सम्पूर्ण क्रियाकलापहरुका लागि एकमुष्ट रु ६ करोड ६९ लाख रुपैयाँ विनियोजन गर्दै पूँजीगत खर्चमा आर्थिक विकासतर्फ १ करोड ८४ लाख , पूर्वाधार विकासतर्फ १० करोड २८ लाख , वन वातावरण विपद तथा सरसफाईतर्फ २१ लाख , संस्थागत विकास सेवा प्रवाह तथा सुशासनतर्फ ५५ लाख सामाजिक विकासतर्फ ५ करोड ७४ लाख २० हजार , संघीय सशर्त अनुदान २१ करोड ७३ लाख , संघीय समपूरक अनुदान ७६ लाख , प्रदेश सशर्त अनुदान ६२ लाख ८५ हजार गरी जम्मा अनुमानित व्यय रु ४९ करोड ४३ लाख ५ हजार रुपैयाँ हुने बजेटमा उल्लेख छ ।

गाउँपालिकाका कार्यवाहक अध्यक्ष थपलियाको अध्यक्षतामा भएको गाउँसभामा प्रमुख प्रशासकीय अधिकृत गजेन्द्र थपलिया , लेखा अधिकृत तथा सूचना अधिकारी लक्ष्मी खतिवडा , कृषि शाखा प्रमुख जगतनारायण मण्डल , सातै वटा वडाका वडा अध्यक्षहरु , कार्यपालिका सदस्यहरु , परिषद सदस्य तथा कर्मचारीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्