विनोद सापकोटा,
सुरुङ्गा, असार ११ । कनकाई नगरपालिका वडा नम्बर ३ को प्यारागन एकाडेमीले यस वर्षदेखि कक्षा ११ को अध्यापन गराउने भएको छ ।


पूर्व प्राथमिक तहदेखि कक्षा १० सम्म यसअघि सञ्चालन भएको प्रविधि र पूर्वाधारयुक्त सो विद्यालयले व्यवस्थापन समूहमा कम्प्युटर विज्ञानको साथ अध्ययन अध्यापन गराउने सोमबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ।
विद्यालयकी संस्थापक तथा सञ्चालक समितिकी अध्यक्ष चम्पा खनाल सुवेदीले कन्काई नगरपालिकाको निजी विद्यालयतर्फ अब्बल प्यारागन एकाडेमीले कक्षा ११ मा पनि अध्ययन अध्यापन गराउने बताइन्। ‘एसईईको रिजल्ट आएलगत्तै विद्यार्थी भर्ना प्रक्रिया सुरु हुनेछ,’ उनले भनिन् ।

विद्यालयले कक्षा ११ सञ्चालनका निमित्त सबै तयारी पूरा गरेको छ। यो कक्षा सञ्चालनका लागि नगरपालिकाले अख्तियारी दिएको अध्यक्ष सुवेदीले बताइन्। ‘हामीले यसअघि नै कक्षा ११ र १२ सञ्चालनको तयारी गरेका थियौँ। तर केही कागजी प्रक्रियाका कारण सञ्चालन अनुमति ढिला हुन गयो,’ उनले भनिन् ‘प्यारागन एकाडेमीलाई कक्षा ११ र १२ सञ्चालनको अनुमति दिने निर्णय गरेपछि यसको सबै तयारी सुरु भएको हो।’

विद्यालयका प्रिन्सिपल दीपक भट्टराईले व्यवस्थापन समूहतर्फ सामाजिक र कम्प्युटर विज्ञानमध्ये एक विद्यार्थीले अध्ययन गर्न पाउनेछन् । यस्तै सामाजिक र गणित विषयमध्ये एक विद्यार्थीले अध्ययन गर्न पाउनेछन् । ’यी विषयसहित अनिवार्य विषयहरू अंग्रेजी, नेपाली र अर्थशास्त्र पढाइ हुनेछ,’ प्रिन्सिपल भट्टराईले भने ।

एसईई परीक्षामा उत्कृष्ट अङ्क ल्याई उत्तीर्ण हुने विद्यार्थीलाई विद्यालयले भारी छुटको पनि व्यवस्था गरेको छ। विद्यालय प्रशासनका अनुसार एसईई परीक्षामा ३.६ भन्दा माथि जिपिए ल्याउने विद्यार्थीलाई ७५ प्रतिशत मासिक शुल्कमा छुट दिने व्यवस्था विद्यालयले मिलाएको छ। यस्तै ३.२ देखि ३.६ सम्म जिपिए ल्याउने विद्यार्थीले मासिक शुल्कमा १० प्रतिशत छुट पाउने जानकारी विद्यालय प्रशासनले दिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्