झापा,असार ११ । झापाका १५ वटा पालिकामध्ये १४ वटाले बजेट , नीति तथा कार्यक्रम प्रस्तुत गरिसक्दा गौरीगञ्जले हिजो बजेट ल्याउन सकेन ।

भद्रपुर , दमक र कमलले अघिल्लै दिन असार ९ गते बजेट , नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । अन्य ११ वटा पालिकाले हिजो असार १० गते पेश गरेका छन् । तर, गौरीगञ्जले हिजो नीति तथा कार्यक्रम प्रस्तुत गरेपनि बजेट सार्वजनिक गर्न सकेन । बजेटमा विनियोजन गर्नुपर्ने रकम मिल्न बाँकी रहेकाले गौरीगञ्जले बजेट सार्वजनिक गर्न नसकेको हो । बजेटमा केही कुरा मिलाउन बाँकी रहेकाले हिजो नीति तथा कार्यक्रम मात्र सार्वजनिक गरिएको गाउँपालिका अध्यक्ष फूलवती राजवंशीले बताइन् । उनले नीति तथा कार्यक्रम पारित गराउन समस्या हुने गरेकाले त्यसलाई हिजो अनुमोदन गराइएको र असार १६ गते अर्को बैठकमा बजेट प्रस्तुत गरिने जानकारी दिए । हिजोको पन्ध्रौं गाउँसभाको बैठकमा गाउँपालिकाकी अध्यक्ष राजवंशीले आर्थिक वर्ष २०८१÷८२ को नीति तथा कार्यक्रम पारित भएको घोषणा गरेकी थिईन् ।

कोशी प्रदेशका १ सय ३७ पालिकामध्ये हिजोसम्म अधिकांशले बजेट सार्वजनिक गरेका छन् । सुनसरीको धरान उपमहानगरले भने न बजेट ल्यायो न त नीति तथा कार्यक्रम नै । उपप्रमुख अइन्द्रविक्रम बेघाले बजेट र नीति तथा कार्यक्रम निर्माणको प्रक्रिया पूरा नभएका कारण समयमा बजेट ल्याउन नसकिएको बताए । सुनसरीको अर्को उपमहानगर इटहरीले पनि विवादका कारण नगरसभा आयोजना गर्न सकेन । मोरङ, सुनसरी, इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुमका सबैजसो पालिकाले बजेट सार्वजनिक गरेका छन् ।

त्यस्तै, संखुवासभा, भोजपुर, उदयपुर, खोटाङ, ओखलढुंगा र सोलुखुम्बुका पालिकाहरूले पनि बजेट सार्वजनिक गरेका छन् । ८८ गाउँपालिकासहित १ सय ३७ पालिका रहेको कोशीबाट सोमबारसम्म ३८ वटाले मात्रै मन्त्रालयको वेबसाइटमा बजेट प्रविष्ट गरेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्