झापा, असार ११ । वर्षासंगै परेको चट्याङले झापाको अर्जुनधारा र मेचीनगरमा पनि क्षति गरेको छ ।

आज बिहान ४.४५ बजे अर्जुनधारा ४ भाङवारी बस्ने गोरेलाल दनुवारको एकतले घरको बिजुलीको मिटरबक्समा चट्याङ पर्दा एउटा बाख्राको पाठी मर्नुका साथै टीभी , पंखा , राउटरलगायतका सामानमा गरी करिव ६५ हजार मूल्य बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी प्रकाश विष्टले बताए ।

त्यस्तै रातिदेखि परेको अविरल वर्षाका कारण अर्जुनधारा ३ जुकेखाडीमा एउटा बिजुलीको पोल ढलेको छ । नेपाल विद्युत प्राधिकरण अनारमनी वितरण केन्द्रको टोलीले मर्मत कार्य गरिरहेको जनाएको छ ।

त्यस्तै बिहान अन्दाजी ५बजेको समयमा मेचीनगर नगरपालिका वडा नं.३ भिमसेन टोल बस्ने भिमकुमार श्रेष्ठको ३ तले घरमा परेको चट्याङले बिद्युतीय सामग्रीहरु मिटर बक्स ,मेन स्वीच ,स्वीच बोर्ड ,पानी तान्ने मोटर जल्दा अन्दाजी २५ हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

चट्याङले लागेर झापामा दुईजनाको मृत्यु भइसकेको छ । आज बिहान वर्षासंगै परेको चट्याङले लागेर गौरीगञ्ज र कमलमा एक–एकजनाको मृत्यु भएको हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्