झापा,असार १२ । लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसारबिरुद्ध सप्ताहव्यापी कार्यक्रम झापामा समापन भएको छ ।

जिल्लामा एक साताभरि विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको हो । समापनका अवसरमा समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत जिल्ला प्रहरी कार्यालय झापा, जिल्ला ट्राफिक प्रहरी कार्यालय झापा तथा इलाका प्रहरी कार्यालय अनारमनीको संयुक्त आयोजनामा बिर्तामोडमा कार्यक्रम गरिएको थियो । प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाको प्रमुख आतिथ्यमा जिल्ला सुरक्षा समितिका पदाधिकारी, विभिन्न सरोकारवाला निकाय, विद्यार्थी , सामाजिक संघ संस्थाका प्रतिनिधि , संचारकर्मीसमेत गरी अन्दाजी ५ सय जनाको उपस्थिति रहेको थियो ।

त्यस्तै समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसारबिरुद्ध जनचेतनामुलक प्रशिक्षण सुरुङ्गामा सम्पन्न भएको छ । सुरुङ्गा जेसीजको आयोजनामा जेसीजको सभाहलमा लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसारबिरुद्ध जनचेतनामुलक प्रशिक्षण संचालन गरिएको थियो ।

कन्काई नगरपालिकास्थित बिभिन्न विद्यालयका विधार्थीहरु र स्थानीय गरी करिव २ सय जनाको उपस्थिति रहेको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक कृष्णकुमार चन्द, प्रहरी निरीक्षक ढुण्डीराज गिरी र प्रहरी सहायक निरीक्षक ओमराज पौडेलले लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसारका बिषयमा प्रस्तुतिकरण दिएका थिए ।

लागूऔषध नियन्त्रण ब्यूरोका अधिकारीहरुका अनुसार झापा जिल्ला लागूपदार्थको दुर्व्यसनी तथा कारोबारीहरुको मुख्य गन्तव्य स्थल बन्दै गएको छ ।

झापामा लागूऔषधका दुर्व्यसनीहरुको संख्या छ हजार पाँच सयभन्दा माथि छ, जुन काठमाडौँपछि दोस्रो बढी भएको लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाका प्रहरी नायब निरीक्षक सोमेस लामिछानेले बताए । उनका अनुसार झापा जिल्ला भारतसँग १४४.२ किलोमिटर खुला सीमाना भएका कारण पनि लागूऔषधको कारोबारको ग्राफ बर्सेनि बढ्दो क्रममा छ ।खुला सीमाको फाइदा उठाउँदै झापाका विभिन्न ठाउँबाट नेपाल भित्र्याइँदै गरेका लागूपदार्थसहित मानिस पक्राउ पर्ने क्रम दिनहुँ जस्तो छ । जिल्ला प्रहरी कार्यालयले उपलब्ध गराएको विवरणमा लागूपदार्थ सेवनकर्ता तथा कारोबारी प्रायः दिनहुँ पक्राउ पर्ने गरेका छन् । प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दका अनुसार चालु आर्थिक वर्षको ११ महिनामा चार सय नौजना लागूपदार्थको सेवन तथा कारोबार गर्दै गर्दाको अवस्थामा पक्राउ परेका छन् । उनीहरुको साथबाट २.०८५ किलोग्राम खैरो हिरोइन र २८.६ किलोग्राम गाँजा बरामद गरिएको प्रनाउ चन्दले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार गत आवमा तीन सय ३६ जना लागूपदार्थको सेवनकर्ता तथा कारोबारी पक्राउ परेका थिए । जुन संख्या चालु आवको ११ महिनासम्म पुग्दा २१.७२ प्रतिशतले वृद्धि भएको छ । यसैगरी, उनीहरुसँग पक्राउ परेको गाँजा तथा खैरो हिरोइनको परिमाण पनि गत आवको भन्दा दोब्बर भएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा अधिकांश १६ देखि २५ वर्ष उमेर समूहका रहेको प्रहरीले जनाएको छ । लागूऔषध सेवन तथा ओसारपसार गर्ने मानिसहरुबारे नियाल्ने हो भने झापा बाहेकका जिल्लाका व्यक्तिहरु समेत सक्रिय रहेको प्रनाउ चन्दले बताए । झापा जिल्ला लागूऔषध कारोबारका लागि ट्रान्जिट बन्दै गएको अवस्था रहेको उनको भनाइ छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्