झापा, असार १२ । कोशी प्रदेशमा मनसुन भित्रिएयता बाढी, पहिरो, डुबान र चट्याङमा परेर २४ जनाको मृत्यु भएको छ ।

प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार १७ जनाभन्दा बढी घाइते र २ जना बेपत्ता भएका छन् । १ सयभन्दा बढी पशु चौपाया मरेको र आर्थिक हिसाबले करिब १० करोड बराबरको क्षति भएको जनाइएको छ।

प्रदेशका प्रहरीका प्रवक्ता एवं एसपी सुमनकुमार तिमल्सिनाका अनुसार मोरङमा ६, ताप्लेजुङमा ५, झापा र संखुवासभामा ४÷४, इलाम र सुनसरीमा २÷२, तथा ओखलढुंगामा १ जनाको मृत्यु भएको हो। बाढी, पहिरो तथा डुबानका कारण २ सय २५ परिवारका ७ सय ३८ जना विस्थापित भएको उनले बताए। एसपी तिमल्सिनाका अनुसार अनुसार ताप्लेजुङमा ७५, मोरङमा ६८, संखुवासभामा ५५ र झापामा २७ परिवार विस्थापित भएका छन्।

विस्थापित भएकालाई उद्धार गरेर सुरक्षित स्थानमा लगी विद्यालय, सामुदायिक भवनलगायतमा अस्थायी बासस्थानको व्यवस्था गरिएको उनको भनाइ छ। प्रहरीका अनुसार बाढी र पहिरोका कारण ३३ वटा घरमा पूर्ण र ४२ वटा घरमा आंशिक क्षति पुगेको छ। प्राकृतिक प्रकोपमा परेर पछिल्लो २ दिनमा मात्रै ९ जनाको मृत्यु भएको छ। बाढी र पहिरोमा परेर ६ तथा चट्याङले लागेर ३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। बाढीले बगाएर २ जना बेपत्ता छन्।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्