झापा, असार १३ । चिचिला गाउँपालिकाबाट गत वर्षसम्म नै कृषकको मागबमोजिम कागती, सुन्तला, एभोकाडोलगायतका बिरुवा बाँडियो । रोजगार सेवा केन्द्रमार्फत बेरोजगार सूचीमा रहेकालाई बर्सेनि न्यूनतम एक सय दिनसम्म रोजगारीसमेत दिइयो । बर्सैपिच्छे लाखौँ रुपियाँ लगानीबाट न कृषकको आयस्तर वृद्धि भयो न त दीर्घकालीन रोजगारी नै प्राप्त भयो । यसरी गरिएको लगानी उपलब्धिमूलक नदेखिएपछि गाउँपालिकाले यस वर्ष बृहत् कृषि कार्यक्रम सुरु गरेको छ । स्थानीय सरकार, प्रधानमन्त्री रोजगार कार्यव्रmम र कृषकको त्रिपक्षीय लागत साझेदारीमा कार्यव्रmम सञ्चालन गर्न लागेको हो । यसका लागि गाउँपालिकाले एक कार्यविधि निर्माण गरी कार्यक्रम सुरु गरेको हो ।

यस कार्यव्रmममार्फत गाउँपालिकाका पाँचमध्ये चार वटा वडामा ८०६ रोपनी क्षेत्रफल जग्गामा ४८ हजार छ बोट बहुबर्से नगदे बिरुवा लगाउन लागेको हो । यस कार्यव्रmममा कृषि समूह, कृषि फार्म, कृषि सहकारी र टोल विकास संस्थाहरूको सहभागिता छ । यस कार्यव्रmमका लागि न्यूनतम एक सय रोपनी जग्गाबाट खेती सुरु गर्नुपर्ने छ । कृषकले सिमाना मिल्ने जग्गालाई गाभेर (चक्लाबन्दी) एउटा बगान बनाई खेती लगाउनुपर्ने हुन्छ । सो अनुसार वडा नम्बर १ मा १३० रोपनी क्षेत्रफलमा बिरुवा लगाउन लागिएको हो ।

त्यस्तै वडा नम्बर २ मा दुई समूहले २३९ रोपनी क्षेत्रफलमा बिरुवा लगाउन लागेका छन् । वडा नम्बर ४ मा पनि दुई समूहले २७३ रोपनी क्षेत्रफलमा बिरुवा लगाउन लागेका छन् । वडा नम्बर ५ मा पनि दुई समूहले २०७ रोपनी क्षेत्रफलमा बिरुवा लगाउन लागेका छन् ।

उक्त जग्गामा कृषकले सुन्तला, कागती, कफी र एभोकाडोको अनुमानित ४८ हजार बिरुवा लगाउन लागेको हो । यो संख्या जग्गाको क्षेत्रफल र बिरुवा रोप्ने दुरीका आधारमा अनुमान गरिएको भए पनि भिरालो जमिन भएकाले यो संख्या केही घट्न सक्ने चिचिला गाउँपालिकाका कृषि प्रसार अधिकृत सन्तोष खड्काले जानकारी दिए । अहिले बिरुवा रोप्नका लागि खाल्डो खन्ने काम भइरहेको र खनिसकेपछि मात्र बिरुवाको यकिन संख्या आउने उनले स्पष्ट पारे ।

यस कार्यव्रmमका लागि प्रत्येक बगानमा एक कृषि प्राविधिक खटाइएको गाउँपालिकाका अध्यक्ष पासाङ नुर्बु शेर्पाले जानकारी दिए । प्राविधिकको परामर्श अनुसार हावापानी, उचाइ र माटो परीक्षण गरी बिरुवा लगाइने छ । कृषकले बिरुवा रोप्न चाहेको जग्गामा उचित हुने वा नहुने, कृषि प्राविधिकको अध्ययनपछि मात्र गाउँपालिकाले सिफारिस गर्ने पालिका अध्यक्ष शेर्पाले जानकारी दिए ।

यस कार्यव्रmमको कार्यविधि अनुसार त्रिपक्षीय साझेदारी कार्यक्रम अन्तर्गत बाँझो भएको जग्गाको झाडी फँडानी र बिरुवा रोप्नका लागि आवश्यक खाल्डो खन्ने काम प्रधानमन्त्री रोजगार कार्यक्रमबाट गरिने छ । बिरुवा खरिदमा गाउँपालिकाले कृषकलाई ५० प्रतिशत अनुदान दिने छ । मलको व्यवस्थापन र बाँकी ५० प्रतिशत बिरुवाको लागत कृषकले बेहोर्नुपर्ने छ भने सिँचाइमा पनि गाउँपालिकाले सहयोग गर्ने छ ।

यसरी अहिले गरिएको लगानीबाट तीनदेखि पाँच वर्षबाट आम्दानी लिन थाल्ने गाउँपालिकाको दाबी छ । उत्पादन एकै ठाउँमा भएकाले व्यापारी बगानसम्म नै पुग्ने र नपुगे पनि गाउँपालिका आफैँले बजार व्यवस्थापन गरिदिने गाउँपालिकाको योजना रहेको आर्थिक विकास समिति संयोजक तथा वडा नं. १ का अध्यक्ष पूर्णकुमार राईले जानकारी दिए । उनका अनुसार केही वर्षबाट हुने उत्पादन भण्डारण तथा व्यवस्थापनका लागि उत्तर दक्षिण कोशी राजमार्गमा पर्ने पालिकाको केन्द्र चिचिलामा एक भण्डारणगृह निर्माण गर्न सुरु गरिसकेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्