झापा,असार १३ । मानव र वन्यजन्तुबीचको द्धन्द न्यूनिकरण गर्ने उद्देश्यले झापाको अर्जुनधारा–३स्थित जुकेखाडी सामुदायिक वन उपभोक्ता समूहले वन क्षेत्रमा बाँस एवम् विभिन्न फलफूलको बिरुवा रोपण कार्य शुरु गरेको छ ।

गत जेठ ४ गते सम्पन्न भएको कार्यसमितिको बैठकको निर्णय अनुसार वन्यजन्तु संरक्षित क्षेत्रको रुपमा संरक्षण गरिएको सामुदायिक वन अन्र्तगत खण्ड नं.१को ‘गैंडे आहाल क्षेत्र’मा समूहले उक्त रोपण कार्य शुरु गरेको हो ।

समूहको आयोजना र सुरुङ्गा सब डिभिजन वन कार्यालय, सशस्त्र प्रहरी बल सुरक्षा बेस खुदुनावारी, अस्थायी प्रहरी चौकी खुदुनाबारी, शनिश्चरे बहुमुखी क्याम्पस, समूहअन्र्तगत विभिन्न टोललगायतको संयोजनमा बिहीबार समूहका अध्यक्ष मोहन श्रेष्ठले केराको बिरुवा रोपेर उक्त कार्यक्रमको उद्घाटन गरेका थिए ।

दुई दिनसम्म सञ्चालन हुने कार्यक्रम अन्र्तगत समूहको विभिन्न टोलबाट सञ्चालन गरिएको “एक उपभोक्ता घरधुरी एक बिरुवा” अभियानमार्फत् संकलन गरिएको बाँससँगै केरा, उखुलगायत फलफूलका बिरुवा रोपिने समूहका अध्यक्ष श्रेष्ठले जानकारी दिए । “कार्यक्रममार्फत् आहाराको खोजीमा बस्तीसम्म पुग्ने वन्यजन्तुहरुका कारण हुनसक्ने धनजनको क्षतीमा कमी हुनेछ ।”–अध्यक्ष श्रेष्ठले दावी गरे ।

त्यसैगरी अनुमानित ११.१६ हेक्टर क्षेत्रफल रहेको संरक्षण क्षेत्रमा वन्युजन्तुहरुको लागि आगामी आर्थिक वर्ष ०८१/०८२मा आहारासँगै खानेपानीको व्यवस्थापन गर्न पोखरी निर्माणको कार्य सम्पन्न गर्ने समूहको लक्ष्य रहेको छ ।

समूहका तत्कालिन् अध्यक्ष दिव्य कट्टेलको कार्यकालमा पनि उक्त क्षेत्रमा बाँस र फलफूलका बिरुवा रोप्ने कार्य भएको समूहका लेखापाल हरि खतिवडाले जानकारी दिए । लेखापाल खतिवडाका अनुसार उक्त क्षेत्रमा हात्ती, बँदेल, मृग, बाँदर, दुम्सी आदि पाइने गरेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्