विनोद सापकोटा,
झापा, असार १३ । झापामा पानीमा डुबेर एकजनाको मृत्यु भएको छ भने दुईजना बेपत्ता भएका छन् ।

पानीमा डुबेर शिवसताक्षी २ बस्ने २८ वर्षीय बुधे बेस्राको मृत्यु भएको हो । घरको पूर्वपट्टी खेतमा जमेको पानीमा डुबेर उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक अनिश बुढाथोकीले बताए । घरबाट निस्केका बेस्रालाई आज बिहान पानीमा डुबेर मृत अबस्थामा देखेपछि उनकी आमाले स्थानीयलाई खबर गरेकी थिइन् । मादक पदार्थ सेवन गर्ने गरेका बेस्रा छारे रोगका बिरामीसमेत रहेका थिए ।

त्यस्तै गौरीगञ्ज वडा न.१ स्थित कमल खोलाले बगाउँदा एकजना बेपता भएका छन् । बेपता हुनेमा वडा न.१ ढेबुबस्तीका ढेबु मुर्मूका अन्दाजी ४० वर्षका छोरा लखीराम मुर्मू रहेको गौरीगञ्ज वडा न. १ का अध्यक्ष कात्तिकलाल राजवंशीले बताए ।
आज दिउँसो ४ बजे ढेबुबस्तीनजिकै रहेको कमल खोला तर्ने क्रममा उनलाई खोलाले बगाएको वडा अध्यक्ष राजवंशीले बताए । जनपद प्रहरी , सशस्त्र प्रहरी तथा स्थानीयको सहयोगमा खोलामा खोजी कार्य जारी रहेको र हालसम्म पनि फेला नपरेको इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक बुढाथोकीले बताए ।

त्यस्तै हिजो साँझदेखि बेपत्ता भएका गौरीगञ्ज गाउँपालिकाका एक किशोरको अवस्था अझै अज्ञात छ।
कमल बनियानी खोलाले हिजो साँझ खोला तर्ने क्रममा बेपत्ता भएका किशोरको अवस्था अज्ञात रहेको गौरीगञ्ज १ का वडा अध्यक्ष राजवंशीले बताए । उनले भने,‘नेपालतर्फको भूभागमा पर्ने खोलाको दुवै किनार खोज्ने काम सकिएको छ । तर उनको अवस्था अझै अज्ञात छ।’

खोजीका लागि इलाका प्रहरी कार्यालय झिलझिले, प्रहरी चौकी कुञ्जीबारी, प्रहरी चौकी महाभारा, इलाका प्रहरी कार्यालय शिवगञ्ज, सशस्त्र प्रहरी र स्थानीय लागिपरेका छन्। स्थानीयका अनुसार बेपत्ता किशोर सकुशल अवस्थामा फेला पर्न सक्ने सम्भावना कम रहेको छ ।

गौरीगञ्ज वडा नं १ स्थित कमल बनियानी खोलाले बगाउँदा वडा नं १ झोलुंगे टोलका वेद बिकका १३ बर्षिय छोरा मिलन बिक बेपत्ता भएका हुन् । हिजो साँझ ६ बजेतिर साथीहरुसँग खोला तर्ने क्रममा ती किशोरलाई खोलाले बगाएको थियो । साथीसँग गोल खेलेर फर्कने क्रममा अन्य सात –आठ जना साथीसँग उनी खोलामा पौडी खेल्न पसेका थिए। सोही क्रममा उनलाई खोलाले बगाएको प्रारम्भिक अनुसन्धानबाट देखिएको इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक बुढाथोकीले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्