बिर्तामोड, असार १४ । बिर्तामोड नगर प्रमुख पवित्रा महतारा प्रसाईले नगरका सबै वडालाई समानुपातिक तवरले बजेट विनियोजन गरेको बताएकी छन् ।

आर्थिक वर्ष २०८०÷०८१ को तेस्रो चौमासिकअन्तर्गत वडा नम्बर १०को सभाहलमा हिजो आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्दै उनले बिर्तामोडमा कुनै प्राकृतिक स्रोत नभएका कारण आम्दानी थोरै हुने गरेको र उठेको बजेटलाई समानुपातिक ढंगले वितरण गरेको स्पष्ट पारिन् ।

नगर प्रमुख प्रसाईले संघीय सरकारले लगाएको ठेक्कामा विभिन्न प्रकारका समस्या आउने गरेको बताइन् । उनले समयमा काम नहुने, ठेकेदार सम्पर्कमा नआउनेलगायतका समस्या रहेको जानकारी दिइन् । पालिकाले लगाएको ठेक्कामा भने त्यस्तो समस्या नरहेको उनको भनाई छ ।

सहभागीहरुले राखेको जिज्ञासाको जवाफ दिँदैै नगर प्रमुख प्रसाईले सुकुम्बासी समस्या समाधानका लागि पहल गरिरहेको बताइन् ।धनीपुर्जा दिने अधिकार पालिकासंग नरहेको भन्दै उनले समस्या हल गर्नुपर्नेमा जोड दिइन् । सार्वजनिक सुनुवाईका सहभागीहरुले टोल विकास संस्थाको काम कर्तव्य र अधिकार, भौतिक पूर्वाधार, कृषि औजार खरिद तथा वितरण, सुकुम्बासी समस्या, खानेपानी, पर्यटन, अपुरा योजना, प्रशासनिक र प्राविधिक समस्या, महिला हिंसा, स्वास्थ्य वीमालगायतका विषयमा जिज्ञासा राखेका थिए ।

सहभागीहरुको जिज्ञासालाई नगर प्रमुख प्रसाई, वडा नम्बर १० का वडाध्यक्ष दुर्योधन गुरुङ, प्रमुख प्रशासकीय अधिकृत राधाकृष्ण खतिवडाले जवाफ दिएका थिए । झापा युनेस्को संघ नेपालका तर्फबाट विजय तिम्सिनाले कार्यक्रमको सहजीकरण गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्