झापा, असार १४ । यस वर्षको एसईई परीक्षामा झापा हल्दिवारीको सरस्वती माध्यमिक विद्यालयको नतिजा निल भएको छ ।

हल्दिवारीका ६ सामुदायिक र ५ संस्थागत विद्यालय गरी ११ वटा विद्यालय एसईई परीक्षामा सहभागी भएकोमा सरस्वती माविको नतिजा निल भएको हो । सो विद्यालयबाट २० जना विद्यार्थी परीक्षामा सहभागी भएकोमा सबैजना अनुत्तीर्ण भएका छन् ।

त्यस्तै हल्दीवारी माविका तर्फबाट साधारण धारमा ११९ र प्राविधिक धारमा २१ गरी १४० जना विद्यार्थीले परीक्षा दिएकोमा साधारण धारमा २३ र प्राविधिक धारमा २० जना उत्तीर्ण भएका छन् । हल्दिवारी मावि नमुना माविको रुपमा संचालित छ । त्यस विद्यालयको प्राविधिक धारतर्फ राम्रो नतिजा आएपनि साधारण धारतर्फ नतिजा खस्किएको छ । त्यस्तै महेन्द्र माविबाट ४५ जना सहभागीमध्ये ८ जना , पंचायत माविबाट १९ जना सहभागीमध्ये ३ जना , लक्ष्मी माविबाट ३६ जना सहभागीमध्ये १२ जना , जनजागृति माविबाट ९३ जना सहभागीमध्ये ३० जनामात्र उत्तीर्ण भएका छन् ।

त्यस्तै संस्थागततर्फ क्यानरी एकेडेमीबाट २३ जना सहभागीमध्ये १८ जना , सिग्मा स्कुलबाट ३४ जना सहभागीमध्ये ३१ जना , सनसाइन स्कुलबाट१६ जना सहभागीमध्ये १५ जना , चिल्ड्रेन गार्डेनबाट २९ जना सहभागीमध्ये १७ जना र चिल्ड्रेन एकेडेमीबाट २९ जना सहभागीमध्ये १९ जना उत्तीर्ण भएका छन् । हल्दीवारीमा जम्मा ४८४ जना विद्यार्थी एसईईमा सहभागी भएकोमा १९६ जना उत्तीर्ण भएका छन् । जुन ४०.४९ प्रतिशत हो ।

संस्थागत विद्यालयहरुले राम्रो नतिजा ल्याएपनि सामुदायिक विद्यालयको शैक्षिक स्तर कमजोर देखिएको छ । हल्दिवारी गाउँपालिकाले शिक्षा क्षेत्रमा ठूलो लगानी गरेको छ । शिक्षकहरुले पढाए– नपढाएको र विद्यार्थीहरुले पढे– नपढेको निगरानी गर्न गत वर्ष सबै सामुदायिक विद्यालयमा सीसी क्यामेरा जडान गरिएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्