बिर्तामोड, असार १४ । यस वर्षको एसईई परीक्षामा सीमान्तकृत सन्थाल समुदायका विद्यार्थीहरुले पनि राम्रो नतिजा ल्याएका छन् ।

झापाको बाह्रदशी गाउँपालिकामा रहेको गौरीशंकर माविका छात्र टेकनाथ सोरेनले सीमान्तकृत सन्थाल समुदायबाट एसईईकै इतिहासमा उच्च अंक ल्याएका छन् । २०६४ साउन ३० गते जन्मिएका सोरेनले २०८० को एसईईमा ३.८२ जीपीए अंक ल्याएको विद्यालयका प्रधानाध्यापक लेखनाथ कटुवालले जानकारी दिए । सोरेन विद्यालयका अनुशासित, मेहनती र नियमित विद्यालय आउने विद्यार्थी भएको कटुवालले बताए । बाह्रदशी–६ डाँगीबारीका सोरेनका बुवा राजिन्दर र आमा उषा सामान्य खेतीपाति र अर्काको ज्यालादारीमा काम गर्दै आएका छन् ।

त्यस्तै गौरीगञ्ज गाउँपालिकाभित्रका ४ वटा सामुदायिक विद्यालयमध्ये खजुरगाछी माविकी पार्वती हास्दाले सबैभन्दा उत्कृष्ट अंक ल्याएकी छन् । उनले यस वर्षको एसईई परीक्षामा ३.५१ जीपीए ल्याएर सामुदायिक विद्यालयतर्फ सबैभन्दा उत्कृष्ट अंक ल्याउन सफल भएकी हुन् । झापा, मोरङ र सुनसरीमा बसोबास रहँदै आएको सन्थाल समुदायको २०७८ को जनगणनाअनुसार ५७ हजार ३१० जनसंख्या रहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्