भद्रपुर, असार १५ । २१ औं राष्ट्रिय धान दिवसको अवसर पारेर भद्रपुरमा सामूहिक धान रोपाइँ गरिएको छ ।


भद्रपुर ७ स्थित शान्ति चौक दक्षिणमा रहेको साना किसान सहकारी संस्था चन्द्रगढीको धान खेतमा सामूहिक रोपाइँ गरिएको हो ।

साना किसान सहकारी संस्था चन्द्रगढीकी अध्यक्ष देवीमाया अधिकारीको अध्यक्षता तथा कृषि शाखा भद्रपुरको संयोजनमा भएको कार्यक्रममा नगर प्रमुख गणेश पोखरेल, भद्रपुर १ का वडाध्यक्ष रामप्रसाद अधिकारी, २ का वडाध्यक्ष रामबहादुर कँडेल, भद्रपुर ६ का वडाध्यक्ष रतिया राजवंशी, ७ का वडाध्यक्ष अभिषेक ढुंगाना, भद्रपुर ९ का वडाध्यक्ष रामप्रसाद दाहाललगायतका जनप्रतिनिधिहरूले धान रोप्दै सामूहिक धान रोपाइँ महोत्सव मनाएका थिए ।

सोही अवसर पारेर स्थानीय कृषक, बालबालिका, जनप्रतिनिधिलाई लक्षित गरी रमाइलोका लागि हिले दौडसमेत सम्पन्न गरिएको थियो ।

उद्घाटन कार्यक्रममा नगर प्रमुख गणेश पोखरेलले व्यवसायिक कृषि आजको आवश्यकता भएपनि अनुदान सदुपयोग भए नभएको लेखाजोखा गर्ने बेला आएको बताउँदै जलवायु परिवर्तनको असर कृषिमा पर्न थालेकोमा चिन्ता व्यक्त गरे । कार्यक्रममा कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्ट, भद्रपुर २ का वडाध्यक्ष रामबहादुर कँडेल, ७ का वडाध्यक्ष अभिषेक ढुंगानालगायतले मन्तव्य राख्दै कृषक राज्यको पहिलो सम्मानित व्यक्ति भएको भन्दै रसायन र विषादिमुक्त जीवन बनाउन कृषकको उल्लेख्य योगदान रहेको धारणा राखेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्