झापा, असार १६ । नेपाल सरकारको नीति तथा मापदण्डको अधीनमा रही गाँजा खेतीलाई औषधीजन्य प्रयोजनका लागि व्यावसायिक खेती प्रवर्धनका लागि धनकुटाको सहिदभूमि गाउँपालिकाले आफ्नो आगामी वर्ष २०८१÷८२ को नीति तथा कार्यक्रममा गाँजा खेतीलाई समावेश गरेको छ ।

यसअघि नै सहिदभूमि गाउँपालिकाले चालु आव २०८०÷८१ को स्वीकृत बजेटमार्फत औषधीय प्रयोजनका लागि गाँजा खेतीको सम्भाव्यता अध्ययनको कार्य सम्पन्न गरी प्रतिवेदनसमेत तयार गरिसकेको छ ।

आगामी आव २०८१÷८२ को बजेटमार्फत नेपाल सरकारको नीति तथा मापदण्डको अधीनमा रही गाँजा खेतीलाई औषधीजन्य प्रयोजनका लागि व्यावसायिक खेती प्रवर्धन गर्न आवश्यक प्रबन्ध गरिने सहिदभूमि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन कार्कीले बताए ।

यसै गरी महालक्ष्मी नगरपालिकाको आगामी वर्षको नीति तथा कार्यक्रममा पनि गाँजा खेती समावेश गरिएको छ । महालक्ष्मी नगरपालिकाले २०८१÷८२ मा केन्द्रीय सरकारले बाटो खुला गरेको खण्डमा औषधीय गुणयुक्त गाँजाको बढ्दो अवैधानिक खेती निरुत्साहित गरी यो खेतीलाई करको दायरामा ल्याउने गरी कार्यक्रम गर्न लागिएको महालक्ष्मी नगरपालिकाका नगरप्रमुख युवराज रायाले जानकारी दिए ।

दोस्रो गाउँ सभाको पाँचौँ अधिवेशनमा सहिदभूमि गाउँपालिकाका उपाध्यक्ष रत्नेश्वरी राई र दोस्रो नगर सभा पाँचाँै अधिवेशनमा महालक्ष्मी नगरपालिकाका नगरप्रमुख युवराज रायाले प्रस्तुत गरेको नीति तथा कार्यक्रम र बजेट गाँजा खेती सर्वसम्मतिले पारित भएको हो ।

महालक्ष्मी नगरपालिकाले यो वर्ष गाँजा सम्भावित क्षेत्रको अध्ययन गर्ने कार्यक्रम समावेश गरेको छ । आगामी वर्षका लागि सहिदभूमि गाउँपालिकाले कुल ४८ करोड ७६ लाख ९७ हजार दुई सय रुपियाँ प्रस्ताव गरेको छ । महालक्ष्मी नगरपालिकाले आगामी आवका लागि कुल ६२ करोड रुपियाँको बजेट प्रस्ताव गरेको छ ।

बजेटले कृषि, शिक्षा, स्वास्थ्य र पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेको छ । नगरपालिकाले कृषि आधुनिकीकरण, गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवा सुदृढीकरण, पर्यटन पूर्वाधार विकास र युवा स्वरोजगार कार्यक्रमलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम पारित गरेको हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्