विनोद सापकोटा ,
शिवगञ्ज, असार १७ । शिवसताक्षी नगरपालिकाको त्रिभुवन माध्यमिक विद्यालय कुनै बेला जिल्लामै कहलिएको विद्यालय हो । तर, आजभोलि त्यही विद्यालयको बेहाल छ । त्यसको मुख्य कारण हो–सरोकारवाला निकायको उदासिनता ।


त्रिभुवन माविका लागि हिउँद, बर्खा दुवैयाम अक्करिलो बनेर आउँछ । यसरी नै बितेको दशक बढी भइसक्यो । पानी पर्न थाल्यो कि विद्यार्थीलाई कक्षा कोठासम्म जान नै सकस हुन्छ । घुँडाघुँडासम्म पानी छिचोलेर कक्षा कोठामा विद्यार्थी पुग्नु पर्ने वर्षौदेखिको बाध्यता छ । ‘हिउँदमा विद्यालयको छाना छिचोलेर शित छिर्छ, बर्खामा घाम,’ शिक्षक रामचन्द्र फुँयालले भने ।

सो विद्यालयका विद्यार्थीले सोमबार जीर्ण कक्षा कोठामा कष्टपूर्ण ढंगले प्रथम त्रैमासिक परीक्षा दिइरहेका थिए । विद्यालयको छानो जीर्ण छ, कतिपय भवनको त छानो नै छैन । खिया लागेर मक्किसकेको छ । जस्तापाता (टिन) ले घाम, पानी र शित केही नै छेक्दैन । झ्याल ढोकाको अवस्था पनि उस्तै छ । ‘हिउँदमा सिरेटो छिर्छ । बर्खामा पानीको धारो । प्रांगणमा त पोखरी नै जम्छ’ विद्यालयका प्रधानाध्यापक नारायण चापागाईंले भने, ‘यो सास्ती खेपेर कसरी पढाउनु ? कति दिन विद्यालय चलाउनु ?’

पानी पर्न थालेसँगै विद्यालयको पढाइ प्रभावित बन्दो रहेछ । विद्यार्थीले कक्षा कोठामै छाता ओढेर पढ्ने र परीक्षा दिने गरेका रहेछन् । ‘कतिपय विद्यार्थी विद्यालय नै आउन छाडिसके,’ शिक्षकहरु भन्छन् ।

‘हाम्रा लागि त यो कुनै नौलो कुरै होइन, तपाईंहरूलाई अनौठो लाग्न सक्छ, त्यो स्वाभाविक नै हो । विद्यालयको अवस्था सबैलाई थाहा भए पनि सास्ती बेहोर्ने चाहिँ विद्यार्थी र शिक्षक मात्र हुन्,’ अर्का शिक्षक युवराज सेढाईंले भने ।

विद्यालयको कक्षा १ देखि कक्षा ४ सम्मका कोठामा मैदानको पानी सोझै पस्छ । यो पानी आकाशबाट परेको हो । बालकक्षाका विद्यार्थीलाई केही दिनदेखि केही सुरक्षित अन्य कोठामा सारेर पढाइरहेको शिक्षक फुँयालले बताए । बालकक्षा सञ्चालन गरिएका कोठामा पानी जमेको छ । विगत वर्षहरूमा नाली काटेर तथा पाइप लगाएर पानी बाहिर पठाउने गरिएको सो विद्यालयमा यसपटकको बर्खा झन् सास्तीपूर्ण छ ।


सामान्य वर्षामा नै पानी जमेपछि प्रथम त्रैमासिक परीक्षा प्रभावित हुने सम्भावना छ । ‘मौसमको अवस्था हेर्दा परीक्षा गर्न नै कठिन हुने देखिएको छ’ प्रधानाध्यापक चापागाईंले भने, ‘मौसममा सुधार भएन र पानी परिरह्यो भने परीक्षा प्रभावित हुन्छ, कसरी गर्ने भन्ने चिन्ता छ ।’ पटकपटक जानकारी गराउँदा पनि शिवसताक्षी नगरपालिका कानमा तेल हालेर बसेको उनको गुनासो छ ।

पढ्न आउने विद्यार्थीहरुले मुश्किलले विद्यालयमा आएर छाता ओढेरै भए पनि पढ्ने गरेका छन् । तर, परीक्षामा त लेख्नुपर्ने भएकाले छाता ओढेर र उभिएर सम्भव नहुने दुःख प्रधानाध्यापक चापागाईंले सुनाए । बर्खा यामभर विद्यालयमा जुत्ता लगाएर र पैन्ट घुँडामाथि नसुर्र्की जानसक्ने अवस्था नै नहुने शिक्षकहरू बताउँछन् ।

२०२८ सालमा स्थापना भएको सो विद्यालयमा अहिले ३५० जना विद्यार्थी छन् । २०५८ र २०६० सालको तत्कालीन एसएलसी परीक्षामा दुई पटक जिल्ला प्रथम भएको सो विद्यालय बर्खामा पोखरीजस्तै बन्ने गरेको छ । त्यसबेला दुई–दुईपटक नगद पुरस्कर जित्ने रेकर्ड कायम गरेको विद्यालय अहिले मर्मत सम्भारका लागि बजेटको प्रतीक्षामा छ । यो विद्यालयको बेहाल देख्दा जो कोही पनि अचम्भित हुने गरेका छन् ।

साविक पाँचगाछी गाविस हाल शिवसताक्षी नगरपालिका–४ ओडारी चोकमा रहेको सो विद्यालय यस क्षेत्रकै पुरानो हो । अहिले कक्षा १२ सम्म अध्ययन अध्यापन हुने गरेको छ । तर, विद्यालयको बेहाल देखेर विद्यार्थी घटिरहेका छन् । बर्खामा पानीको डुबान र हिउँदमा शित र सिरेटोका कारण त्यस क्षेत्रका विद्यार्थी अन्य विद्यालयमा अध्ययनका लागि जान थालेका छन् ।
स्थानीयका अनुसार यहाँका विद्यार्थी जनआदर्श मावि शिवगञ्ज, बालकल्याण मावि कुञ्जिबारी, अमर मावि बैगुनधुरा र नरेन्द्र मावि सरङपाडासम्म जान थालेका छन् । धेरै अभिभावक त आफ्ना बालबच्चालाई महँगो शुल्क तिरेर निजी विद्यालयमा पढाउन बाध्य छन् ।

सो विद्यालयको मर्मत सम्भारका लागि संघीय सांसद लालाप्रसाद साँवा लिम्बू (एलपी साँवा), निवर्तमान कोशी प्रदेश सांसद झलकसिंह दर्लामीले बजेट उपलब्ध गराउने आश्वासन दिएपनि बोलेको कुरा पूरा नगरेको अभिभावकहरुको गुनासो छ ।

शिवसताक्षी नगरपालिका र शिक्षा, युवा तथा खेलकुद विकास शाखाको बेवास्ताका कारण विद्यालयको भविष्य अन्योलमा परेको प्रधानाध्यापक चापागाईंले दुःखेसो गरे । ‘शिवसताक्षीका नगर प्रमुख मेगाहाङ थोप्रा, उपप्रमुख नरमाया कार्की, प्रमुख प्रशासकीय अधिकृत अमृतबहादुर राई विद्यालय भ्रमणमा आउनु भयो, जानु भयो तर, उपलब्धी तस्विर खिच्ने फेसबुकमा राख्ने बाहेक केही भएन ’प्रधानाध्यापक चापागाईंको भनाई छ ।

सांसद एलपी साँवाले पटक–पटक योजना पार्ने आश्वासन दिएर पनि काम नगरेको शिक्षक तथा अभिभावकको आरोप छ । नगरपालिकाले पनि विद्यालयको अवस्थाप्रति नजरअन्दाज गरेको उनीहरूको आरोप छ । स्थानीय सरकार गैरजिम्मेवार हुँदा विद्यालयको दुर्गति भएको स्थानीय अभिभावकले बताए ।

विद्यालयको मर्मत सम्भारका लागि अवसर नजुरेको भने होइन । ‘वडाध्यक्ष हुँदा अधिकचन ताजपुरिया विद्यालय व्यवस्थापन समितिमा थिए । उनले चाहेको भए वडाकै बजेटबाट पनि प्रांगण पुर्ने र विद्यालय मर्मत गर्ने रकम व्यवस्थापन गर्न सक्थे,’ स्थानीय जयनाथ चौधरीले भने, ‘विद्यालयलाई हेर्ने काम उहाँले गर्नु नै भएन ।’ ताजपुरिया सो विद्यालयको व्यवस्थापन समिति अध्यक्ष नै भएको उनले बताए ।

अहिले पनि सोही वडाका वडाध्यक्ष विष्णु प्रसाईं विद्यालय व्यवस्थापन समितिमा छन् । आँखा अगाडि समस्या भएपनि बजेट दिन वडाध्यक्ष प्रसाईंले आनाकानी गर्ने गरेको अभिभावक बताउँछन् । यही कारण पनि विद्यालयको दुर्गति भएको अभिभावकको ठम्याई छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्