झापा, असार १७ । विभिन्न ७० वटा सामाजिक कार्य गरी आफ्नो एकवर्षे कार्यकाल सफल रुपमा पूरा गरेकी लायन्स क्लब अफ बिर्तामोड लेडीकी अध्यक्ष निरू उप्रेती ओली सम्मानित भएकी छन् ।

लायन वर्ष २०२३÷०२४ मा बिभिन्न बिधामा उत्कृष्ट सेवा गरेवापत उनलाई बेस्ट प्रेसिडेन्ट अफ द इयर र सर्भिस एक्सेलेन्स प्र्रेसिडेन्ट अफ द इयरको रुपमा सम्मान गरिएको हो । लायन्स इन्टरनेशनल डिस्ट्रिक ३२५ सीको चौथो क्याविनेट बैठक एवं अवार्ड सेरोमोनी कार्यक्रममा लायन वर्ष२०२३÷०२४ मा बिभिन्न बिधामा उत्कृष्ट सेवा गरेवापत डिस्ट्रिक्ट गभर्नर विजयहरि शर्माले सम्मान प्रदान गरेका थिए । अध्यक्ष ओलीले अध्यक्षको एकवर्षे कार्यकालसम्म साथ र सहयोग गरी सफल बनाइदिनु हुने आफ्ना श्रीमान् लायन्स क्लबका डिस्ट्रिक चिफ निरजकुमार ओली , लायन्स क्लब अफ बिर्तामोड लेडीका सम्पूर्ण सदस्य, आफ्नो घरपरिवारका सम्पूर्ण सदस्य, आफन्त ,बिभिन्न संघ संस्थामा रहनुहुने शुभचिन्तक र पत्रकारहरूलाई धन्यवाद दिएकी छन् ।

उनले ७० औं अर्थात अन्तिम कार्यक्रमको रुपमा अर्जुनधारा ४ स्थित शिवनारायण प्राथमिक विद्यालयमा शुद्ध खानेपानीको व्यवस्था गरिदिएकी थिइन् । “शुद्ध पानी तिमीहरूको लागि नानी” भन्ने नाराका साथ रू २ लाख बराबरको ३०० लिटर प्रतिघण्टा फिल्टर क्षमताको अत्याधुनिक प्रविधियुक्त पानी प्रशोधन वाटर प्लान्ट धारा जडान गरिएको उनले बताइन् । जसको लागि टेरी मिकेस्का फाउन्डेसनले सहयोग गरेको थियो । सो विद्यालयका प्रधानाध्यापकले विद्यार्थीहरुहरूलाई पिउने पानीको असाध्यै समस्या रहेको अवगत गराएपछि आफूहरुले सहयोग गरेको उनले बताइन् ।

सोही अवसरमा अर्जुनधारा नगरपालिकाको सहयोगमा २ लाख रुपैयाँको लागतमा निर्मित प्रवेशद्वार पनि हस्तान्तरण गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि लायन्स क्लब डिस्ट्रिक ३२५ सीका सेकेन्ड भाइस डिस्ट्रिक गभर्नर बबरजङ्ग थापाले ती योजना हस्तान्तरण गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्