झापा, असार १८ । रोल्पामा यात्रुसहितको जिप हिजो दिउँसो दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । अन्य आठ जना घाइते भएका छन् ।
रोल्पाको घर्तीगाउँबाट तालाबाङ जाँदै गरेको लु १ ज ३२५२ नम्बरको फोर्स जिप घर्तीगाउँ–तालाबाङ सडक खण्डअन्तर्गत परेवा छहरानजिक सडकभन्दा ४ सय मिटर तल खसेको हो । मृत्यु हुनेमा ४ महिला, २ पुरुष र १ बालक छन् ।
मृत्यु हुनेमा माडी गाउँपालिका–३ तालावाङका वर्ष ३३ की जुनमाया खड्का, सोही ठाउँ बस्ने वर्ष ७७ का खडकबहादुर डाँगी, दाबाङ निवासी वर्ष ३० की अमृता घर्ती, अमृताकी १८ महिनाकी छोरी, परिवर्तन गाउँपालिका– २ राङ्सी निवासी वर्ष ३३ की रामकली पुनको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ।
यस्तै रेऊघा अस्पतालमा उपचारका लागि पु¥याइएका माडी गाउँपालिका–३ दाबाङ निवासी ७० वर्षीय झुपलाल डाँगी र सोही ठाउँ निवासी एक महिलाको मृत्यु भएको छ । ती महिलाको नाम, ठेगाना खुल्न नसकेको प्रहरीले जनाएको छ ।