बिर्तामोड, असार १८ । बिर्तामोड नगरपालिकाको नगर प्रमुखमा पवित्रा महतारा प्रसाई निर्वाचित भएदेखि नै  टकरावमा उत्रिएको  बिर्तामोड उद्योग वाणिज्य संघले आपसी सम्बन्ध सुधार्ने प्रयत्न गरेको छ ।  

‘प्रतिपक्ष’ को जस्तो भूमिकामा देखिँदै आएको वाणिज्य संघले दुई दिनअघि नगर प्रमुख प्रसाईलाई कार्यक्रममा बोलाएर दुई वर्षदेखिको ‘इगो’ मेटाउने प्रयास गरेको हो । विगतको विवादलाई फर्किएर हेर्दा प्रसाई २०७९ जेठ ८ गते नगर प्रमुखमा निर्वाचित भएलगत्तै वाणिज्य संघले आन्दोलन शुरु गरेको देखियो ।

शुरुमा करबृद्धिको विरोध गरेको वाणिज्य संघले बुधबारे हटियाका व्यवसायीहरुलाई विजुलीको मिटर दिनुपर्ने माग गर्दै आन्दोलन नै संचालन गर्यो । बुधबारे हटियाका व्यवसायीहरुलाई बिजुलीको मिटर दिनुपर्ने मागसहित २०७९ असार ४ गतेदेखि नगरपालिकामा लगातार आन्दोलन गर्नेक्रममा असार ८ गते प्रहरीले ११ जनालाई पक्राउ गर्यो । पक्राउ पर्नेहरुमा बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटी , वरिष्ठ उपाध्यक्ष राजु न्यौपाने , सन्तोष उप्रेती , राधिका चुडाल , कल्पना पुरी , संगीता न्यौपाने , तुलसा तामाङ, निरु अधिकारी , एकता कडरिया विष्ट, नरबहादुर विकलगायत थिए । चर्को आन्दोलनपछि बल्लतल्ल व्यवसायीहरुलाई बिजुली बाल्न दिने कुरामा नगरपालिका सहमत भयो ।

त्यसको केही महिनापछि नगरपालिकाले बुधवारे हटियाका व्यवसायीहरुलाई हटाउने प्रक्रिया शुरु गर्यो । जसको बाधकको रुपमा वाणिज्य संघका तत्कालीन अध्यक्ष प्रकाश शिवाकोटी , वरिष्ठ उपाध्यक्ष राजु न्यौपाने (वर्तमान अध्यक्ष)लगायत देखिए । शुरुदेखि नगरपालिकाको त्यस कदमको विरोध गर्दै आएका उनीहरु २०८० जेठ ८ गते नगरपालिकाले बुधवारे हटियामा डोजर चलाउँदा मैदानमै उत्रिए । प्रहरी प्रशासनसहित नगरपालिकाको ठूलो ‘फोर्स’को अगाडि वाणिज्य संघ र केही व्यापारीहरुको अन्ततः कुनै जोर चलेन । नगरपालिकाले बुधवारे हटिया खाली गराएरै छाड्यो ।

बिर्तामोड नगरपालिका र वाणिज्य संघबीच भएका यी केही अप्रिय घटनाका उदाहरण हुन् । त्यसबाहेक पनि कयौ पटक वाणिज्य संघका पदाधिकारी र नगर प्रमुख प्रसाईबीच तीतो घटनाहरु भएका थिए । आफू वरिष्ठ उपाध्यक्ष रहेको अघिल्लो कार्यकालमा भएका विवादलाई साम्य पार्न वर्तमान अध्यक्ष न्यौपाने लागेको देखिएको छ । यद्यपि उनकै कारणले विगतमा विवाद चर्किएको बताइन्छ । विवादले वाणिज्य संघ र नगरपालिका दुवैलाई हानि गर्ने भएकाले स्थानीय सरकारको रुपमा रहेको नगरपालिकासंग व्यवसायीहरुले मिलेर जानुको विकल्प नभएको उनले बताए । स्थानीय सरकारले संरक्षण गरी आफूहरुको हितमा कार्यक्रम ल्याउनु पर्ने व्यवसायीहरुको भनाई रहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्